फेरी जीवन : परम्परा लोप हुन नदिन छोरालाई सिकाउँछु

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, १२ : २८
फेरी जीवन : परम्परा लोप हुन नदिन छोरालाई सिकाउँछु

चितवन । चैतमा लगाएको फेरीको सिदा (दान) लिएर भर्खर सकिएको छ । फेरीको कामकाज सकिएपछि अहिले धार्मिक कार्यमा उनको दिनहरु बितिरहेका छन् । मठमन्दिरमा, पुजाआज, धर्मकर्ममा निरन्तर लागिरहेका छन् उनी । उनी अर्थात् फेरी लगाउने जोगी ‘गोर्खा बाबाजी’ । 
वास्तविक नाम त उनको धनबहादुर कुँवर हो, तर उनलाई धनबहादुर कँुवर भनेर कसैले चिन्दैनन्, उनी स्थानीयमाझ गोर्खा बाबाजीको नामले चर्चित छन् ।
चितवन भरतपुर १५ ब्रह्मपुर निवासी गोर्खा बाबाजीले वर्सेनि चैत र कार्तिक महिनामा फेरी लगाउँदै हिँड्छन् । उनी भन्छन्, ‘मैले ५६ वसन्त पार गरेको छु, ४० वर्षदेखि फेरीको जीवनमा दौडिरहेको छु ।’
के हो फेरी ?
वर्षको दुई महिना चैत र कार्तिक महिनामा लगाइन्छ फेरी । चैत र कात्तिक महिनाभरि कान चिरेका जोगी (नाथ) ले घरमा राति १२ बजेदेखि ३ बजेसम्म लगाउँछन् फेरी । गोरखनाथका चेला मानिने गोरखाका जोगी समुदायले यो पेसा पुस्तौँदेखि अँगाल्दै आएका छन् । राति फेरी लगाउँदा मन्त्र फलाकिन्छ । कृष्णसारको सिङ्गबाट बनेको नाद (कन्सार) बजाइन्छ । सबै जोगीले फेरी लगाउन पाउँदैनन् । गोरखनाथको मन्त्र लिएर कान चिरेका जोगीलाई फेरी लगाउन पाउने अधिकार छ ।
‘छेद, भेद, मसान, डंकिनी, भूत र पिचासबाट घरको रक्षा हुने मान्यता साथ जोगीले राति फेरी लगाएर भोलिपल्ट बिहान सिदा (दान) लिने गर्दछन्’ गोर्खा बाबाजीले भने, ‘कात्तिक महिना शितकाल र चैत महिना धुपकालका रुपमा वर्षमा दुइपटक कान चिरेका जोगीले फेरी लगाउँछन् ।’
फेरीको आफ्नै कहानी छ । यसको सुरुआत सत्ययुगबाटै भएको मानिन्छ । उनका अनुसार यसको प्रचलन गोरखनाथ बाबाबाट सुरु भएको हो । सत्ययुगमा राक्षसको जगजगी थियो । देवताहरू त्राहीमाम थिए । त्यसबाट बचाउन गोरखनाथ बाबा आफैंले घरघरमा पुगेर फेरी लगाउन थाले । आफूपछि कान चिरेका जोगीलाई उत्तराधिकारी रूपमा उनले सुम्पेपछि कान चिरेका जोगीले फेरी लगाउन थालेका हुन् भन्ने किंवदन्ती छ ।
नयाँ पुस्ताले सिकेनन्
फेरि लगाउने परम्परा नयाँ पुस्ताले सिकेका छैनन् । वर्सेनि यो प्रचलन लोप हुँदै गइरहेको छ । गोर्खा बाबाजीले भने, ‘मेरो धेरै अघिका पुर्खाहरु यही पेसामा थिए, मलाई मेरा बुबाले सिकाउनुभयो फेरी लगाउन । बुबालाई हजुरबाले । म फेरी लगाउन हजरबुबासँग पनि हिँडेको थिएँ, १६ वर्षको उमेरदेखि यो परम्परालाई धानेको छु ।’ 
उनी आफू जीवनभर यही पेसामा लाग्ने बताउँछन् । उनी भन्छन्, ‘म मेरो पुस्ताबाट यो परम्परा लोप नहोस् भन्ने चाहन्छु, त्यसैले मेरो ३ छोरामध्ये कान्छो छोरालाई फेरी लगाउन सिकाउँछु, परम्परा लोप हुन दिन्नँ ।’ 
उनका अनुसार पछिल्लो पुस्ता यो पेसा गर्न चाहँदैनन् । सांस्कृतिक पेसा फेरी लगाउने कार्य नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । तर पनि उनी आफूपछि कान्छो छोरालाई यो पेसा सिकाउने र यसलाई लोप हुनबाट बचाउने सुरसारमा लागेका छन् । फेरीको मन्त्र सिक्न गोरखनाथ मन्दिर गोर्खामा जानुपर्छ । त्यहाँ गएर मन्त्र सिकेपछि पूर्ण भइने गोर्खा बाबाजीले बताए । 
यस्तो छ मान्यता 
गोरखनाथका भक्तको रूपमा चिनिने जोगीले फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ । राति फेरी लगाएर भोलिपल्ट बिहान सिदा लिन आएको जोगीलाई धान, चामल, बेसार, नुन, तेल, घिउ, तरकारी, कालो कपडा र पैसालगायतका वस्तु टीका लगाएर दान दिँदा ग्रहदसा नाश हुने विश्वास रहेको छ । 
‘वर्षभर नै भूतप्रेत नलागोस्, कुनै छेद नलागोस् भनेर मन्त्रसहित कन्सार बजाउने गरिन्छ,’ गोर्खा बाबाजीले भने, ‘यो पवित्र स्वरले घर र गाउँलाई शान्ति दिन्छ ।’ ज्यानको बाजी लगाएर रातिराति फेरी लगाउँदै हिँड्नु चानचुने कुरा नभएको उनी बताउँछन् । 
रातको समयमा फेरी लगाउँदै गाउँ शहर डुल्ने र उज्यालो भएपछि ती घरबाट अन्न, नुन, तेल र आनासुकी पैसा संकलन गरेर जीविकोपार्जन गर्दै आएका जोगी समुदायलाई अहिले आफ्नो पेसा र संस्कृति धान्न नै मुस्किल परेको छ । 
पछिल्लो पुस्ताका युवाहरुले लाज मान्नु, पेसाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि नै काम नपाउनु, आकर्षक कमाई नहुनुजस्ता धेरै कारणले पेसालाई अंगाल्न नमानेको उनको तर्क छ । जातीय पहिचानको पेसाको स्थायीत्वको लागि अहिले कायम भएको तीन तहको सरकारले समेत हालसम्म केही सहयोग नगरेको जोगी समुदायहरुको गुनासो छ ।


 

प्रतिक्रिया दिनुहोस