प्रदेश सरकार र रासस सँगसँगै : मुख्यमन्त्री राई

सोमबार, ०९ बैशाख २०७६, १३ : १५
प्रदेश सरकार र रासस सँगसँगै : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले परम्परागत ढङ्गले राससलाई हेर्न हुन्न भन्नेबारे आफू स्पष्ट रहेको जनाउँदै प्रादेशिक तहमा यसका सेवा र संरचना व्यवस्थित हुन सक्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिति (रासस) को प्रदेश नं–१ स्तरीय पत्रकारिता प्रशिक्षणको आज विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो,“राससले सत्य, तथ्य र जिम्मेवार पत्रकारिता गरिरहेको छ । यसलाई जनताले भरोसा गर्ने सशक्त र आधिकारिक सञ्चार माध्यममा बदल्नुपर्छ । देशको परिवर्तन र विकासमा सिङ्गो पत्रकारिताको उल्लेख्य भूमिका छ । त्यसको हामी कदर गर्न चाहन्छौँ ।”

उहाँले राससलाई नूनको सोझो मात्रै नगरी सरकारका कमजोरीका विषयमा पनि सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सुझाउँदै कुनै सञ्चार माध्यमले गलत नियत राखेर समाचार सम्प्रेषण गरेमा राससका समाचारबाट खण्डन हुने अवस्था आउनुपर्ने बताउनुभयो । आफू केन्द्र सरकारको सञ्चारमन्त्री हुँदा राससमा सुधारका थुप्रै प्रयास थालेको र अहिलेको नेतृत्वले त्यसलाई साकार गरेकामा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । 

पत्रकारिता क्षेत्रले सत्य र तथ्यका आधारमा विगतको परिवर्तन झैँ समृद्धिको विकासमा सहयोगी हुनुपर्ने बताउँदै उहाँले साँघुरो घेराबाट समृद्धिको लक्ष्यमा पुग्न नसकिने भएकाले भ्रष्टाचार वा कुनै कमजोरी तथ्यसहित बाहिर आएमा त्यसमा संलग्नलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले रासस प्रदेश सरकार र यसका गतिविधिसँग जोडिएर सहयोगी रहेको उल्लेख गर्दै राससलाई सरकारी निकायका रुपमा मात्रै हेर्नेे दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रासस आमजनता, र सरकारको  लागि विश्वसनीय र आधिकारिक मिडिया स्रोत हो र यो मिडियाको पनि मिडिया हो । हामी राससको विद्यमान ऐन संशोधनको चरणमा छौँ । छिमेकी चीन र भारतमा आवासीय समाचारदाता राख्ने प्रक्रियामा छौँ । जनता र सरकारबीच पुल बन्न चाहन्छौँ ।”

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गोपाल पराजुलीले प्रदेशमा सञ्चार ग्राम निर्माणको प्रक्रिया शुरु भएको र पत्रकारिता क्षेत्रलाई प्रोत्साहन दिने कार्यक्रम अघि सारिएको जानकारी दिँदै रासससँग थप सहकार्य हुने बताउनुभयो ।

राससका सञ्चालक समिति सदस्य दयाराम दाहालले प्रशिक्षणले राससको समाचार सेवालाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गर्नुभयो । मोरङका जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले सञ्चारमाध्यम वा कुनै पनि निकायले आफ्नो नीति र सीमामा बसेर काम गर्नुपर्ने जनाउनुभयो । 

नेपाल पत्रकार महासङ्घ, प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले राससले सरकारकै गतिविधिलाई पर्याप्त स्थान नदिएको गुनासो गर्दै प्रशिक्षणले त्यस्तो अवस्था अन्त्य गर्ने बताउनुभयो । सञ्चारिका समूहका प्रदेश अध्यक्ष इन्दिरा भट्टराईले सरकारी सञ्चारमाध्यम र निजी क्षेत्रका सञ्चारमाध्यमबीचको प्रतिस्पर्धामा रासस अगाडि देखिनुपर्ने सुझाव दिनुभयो । 

तीन दिनसम्म चल्ने प्रशिक्षणमा समाचार सङ्कलन, प्राथमिकता, सम्पादन, आलेख र खोजी समाचार, संसदीय समाचार सङ्कलन, प्रदेश सरकारका गतिविधि, फोटो पत्रकारितालगायत विषयमा अभिमुखीकरण हुनेछ । 

कार्यक्रममा यस प्रदेशका १४ जिल्लाका राससका स्थायी र स्थानीय समाचारदाता गरी करीब ३० जनाको सहभागिता रहेको रासस प्रदेश नं–१ का प्रमुख मोहम्मद सदरुलले जानकारी दिनुभयो । राससले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस प्रकारको प्रशिक्षण सम्पन्न गरिसकेको छ ।(रासस)
 

प्रतिक्रिया दिनुहोस