श्रीलङ्का आक्रमण अपडेट : १८५ जनाको मृत्यु,  कोलम्बोमा पुनः लगातार दुई वटा बिस्फोटन

एजेन्सी

आइतबार, ०८ बैशाख २०७६, १५ : ५०
श्रीलङ्का आक्रमण अपडेट : १८५ जनाको मृत्यु,  कोलम्बोमा पुनः लगातार दुई वटा बिस्फोटन

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । 

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ । 
सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् । 

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ ।
बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । 

बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । 

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

दश दिन अगाबै चेतावनी दिइएको थियो
श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए ।
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।
“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गर्नुभएको छ । उहाँले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ ।

कोलम्बो नजिकको होटलमा पुनः बिस्फोट, २ जनाको मृत्यु
शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम बिस्फोट भएको छ । बिस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाएका छन् ।

प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो बिस्फोट सातौं रहेको जानकारी दिनुभयो । यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृङ्खलाबद्ध बिस्फोट भएका थिए । 
यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको छ ।

विश्वका नेताहरुद्वारा भत्र्सना
श्रीङ्कामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भत्र्सना गरेका छन् ।

कोलम्बोमा कफ्र्यु घोषणा
श्रीलङ्काको राजधानी कोलम्बोमा पुनः दुईवटा बम बिस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस