स्ववियु निर्वाचनका लागि जेठ दोस्रो साताको समयसीमा

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, ११ : ५०
स्ववियु निर्वाचनका लागि जेठ दोस्रो साताको समयसीमा

काठमाडौं । कार्यतालिका अनुसार गत फागुनमै सम्पन्न हुनुपर्ने थियो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन । तर विद्यार्थी संगठनको असमझदारीले सर्न गयो । अब जेठ दोस्रो साताभित्र गर्ने समयसीमा तोकिएको छ । 

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले बिहीबार विद्यार्थी संगठनहरुसँग छलफल गरी समयसीमा तोकेकी हुन् । सत्तारुढ नेकपानिकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल छैटौं, वैद्यनिकट अखिल (क्रान्तिकारी), नेत्रविक्रम चन्दनिकट अखिल (क्रान्तिकारी), राजपानिकट विद्यार्थी संगठन, राप्रपानिकट राप्रविसंघ, राप्रविसंघ (संयुक्त), नेप्रवियु, आदिवासी जनजाति विद्यार्थी महासंघका प्रतिनिधि सहभागी भएको छलफलमा प्रतिपक्ष दल कांग्रेसनिकट नेपाल विद्यार्थी संघका प्रतिनिधि भने सहभागी भएनन् । 

त्रिविले यसअघि फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्न सबै क्याम्पसमा परिपत्र गरेको थियो । त्यो बेला कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आन्दोलनमा रहेकाले स्ववियु निर्वाचन तत्काल हुन नसक्ने बताएका थिए । अखिल (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी आन्दोलन र स्ववियुको गरिमा बचाउन निर्वाचन अनिवार्य भएको बताउँदै भने, ‘स्ववियु निर्वाचनमा नेविसंघलाई साथै लिएर जाने प्रयासमा छौं ।’

‘स्ववियु चाहिने विद्यार्थीलाई हो’, त्रिवि शिक्षाध्यक्ष त्रिपाठीले भनिन्, ‘त्यसैले आउँदो जेठ दोस्रो साताको कुनै दिन चुनाव गर्न मिति तोकेका छौं ।’ त्रिविले स्ववियु निर्वाचन समन्वय समितिको अध्यक्षमा शिक्षाध्यक्ष त्रिपाठी र उपाध्यक्षमा रजिस्ट्रार डिल्ली उप्रेतीलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस