अदालतको आदेश र संविधान अनुरुप नागरिकता : गृहमन्त्री थापा

आइतबार, २४ चैत्र २०७५, ११ : ४६
अदालतको आदेश र संविधान अनुरुप नागरिकता : गृहमन्त्री थापा

पोखरा । गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताउनुभयो ।

संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उहाँले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उहाँले जानकारी दिनुभयो । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको बताउनुभयो ।

उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताउनुभयो । विप्लब समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उक्त समूहका असंबैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताउँदै उहाँले संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको स्पष्ट पार्नुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस