शताब्दीआसपासका दम्पती

पत्रपत्रिकाबाट

शनिबार, २३ चैत्र २०७५, ०८ : ३१
शताब्दीआसपासका दम्पती

तस्बिर : नयाँ पत्रिका

 

काठमाडाैं । विरलै मानिस शतायु बाँच्छन् । अझ भाग्यमानीले मात्रै त्यतिन्जेल दाम्पत्य सुख पाउँछन् । शताब्दीपुरुष सत्यमोहन र राधा जोशी हुन् वा इलामका टंकनाथ र इन्द्रछाया भुर्तेल, राष्ट्रकवि माधव घिमिरे र महाकाली अधिकारी हुन् वा रसुवाका नुर्पुछोवाङ र छिरिङ घले हुन्, शताब्दी उमेरको ढोका ढक्ढक्याउँदासम्म उनीहरूलाई दम्पतीको साथ छ । केटाकेटीमै बिहेबन्धनमा बाँधिएका यस्ता कतिपय जोडीले जीवनमा हजारौँ उतारचढाव भोगेका छन् । सुख विरलै पाएका यी दम्पती दुःखमा पनि कहिल्यै आत्तिएनन्, एक–अर्काको आडभरोसामा दुःख पन्छाउँदै सधैँ अगाडि बढे । संघर्षपूर्ण जीवनभोगाइले उनीहरूको दाम्पत्यजीवनलाई पनि दरिलो र सुखद बनायो । बिहेपछि सामान्य मनमुटावमै पारपाचुके गर्ने अहिलेको युवापिँढीका लागि यी दम्पतीको जीवन उदाहरण बन्न सक्छ ।

संस्कृतिविद् सत्यमोहन र राधा जोशी : ८२ वर्षे सहयात्रा
‘बिहे गर्ने रुचि थिएन, तर बहिनीको विवाह हुने भएपछि बुबाले एउटै खर्चमा टार्ने विचारले कर गर्नुभयो,’ सत्यमोहन जोशीले सुनाए, ‘बहिनीको विवाह चार दिनपछि थियो । घर सानो भएकाले कोठा पुग्दैनथ्यो, त्यसैले राधालाई सिरी (माइतीबाट ल्याएर घरमा नभिœयाई छिमेकमा राख्ने नेवारी परम्परा । जुन विशेष अवस्थामा मात्रै गर्ने गरिन्छ) राख्नुपरेको थियो ।’ बिहेको पाँच दिनमा मात्रै उनले पत्नीको मुख देखेका थिए । किनभने त्यसवेला नेवारी संस्कारमा बेहुली लिन बेहुला जाँदैन थिए । सानो उमेरमा बिहे भए पनि महिनावारी नहुन्जेल दुवैलाई साथ बस्न दिइँदैनथ्यो । त्यसैले बिहेको ६ वर्षपछि मात्रै उनी साथ रहन थाले । सत्यमोहन धेरैजसो घरबाहिरै हुन्थे । राधाले घर सम्हालिन्, छोराछोरी हुर्काइन् । तीन छोराबुहारी, तीन छोरी–ज्वाइँ, १२ नातिनातिनी र सात पनातिपनातिनीका अभिभावक सत्यमोहन–राधाको दाम्पत्य सुमधुर छ । ‘मेरो सफलतामा राधाको हिस्सा पनि बराबर छ,’ सत्यमोहन भन्छन् । 

आउँदो वैशाख ३० गते सत्यमोहन सय वर्ष लाग्दै छन्, राधा ९६ । बिहे भएको साल उनीहरूलाई ठ्याक्कै सम्झना छैन, तैपनि ८२ वर्ष लागेको बताउँछन् । राधा घरभित्र र बाहिर मात्रै गर्न सक्छिन् । सत्यमोहन त ठमठमी हिँडेर एकै दिन सहरका दुई–चार कार्यक्रम भ्याउँछन् । उनका दर्जनभन्दा बढी सांस्कृतिक एवं साहित्यिक कृति प्रकाशित छन् ।

राष्ट्रकवि माधव घिमिरे र महाकाली अधिकारी : ७० वर्षको दाम्पत्यजीवन
सय वर्षमा हिँडिरहेका छन्, राष्ट्रकवि माधव घिमिरे । गत असोजमा उमेरले शताब्दी छोए पनि उनको सक्रियता कम भएको छैन । नेपाली साहित्यका धरोहर मानिने घिमिरेले काव्यमा छन्दको प्रयोगलाई उचाइमा पुर्‍याएका छन् । सहज शिक्षण केन्द्रमा शिक्षक, नेपाल–भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेसनका लेक्चर, काव्य प्रतिष्ठानका सदस्य, इन्द्रेणीका सम्पादक, तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपतिसमेत बनेका थिए उनी । विभिन्न राष्ट्रिय पुरस्कार एवं सम्मान पाएका उनका गौरी, मालती–मंगले, हिमालपारि हिमालवारि, शकुन्तला, किन्नर किन्नरीलगायत कृति चर्चित छन् । यो सामाग्री आज को नयाँ पत्रीका दैनिकबाट लिएको हो । 

प्रतिक्रिया दिनुहोस