पहिलो सन्तान जन्मिएको २६ दिनपछि थप जुम्ल्याहाको जन्म, चिकित्सक चकित

एजेन्सी

शनिबार, १६ चैत्र २०७५, १६ : ११
पहिलो सन्तान जन्मिएको २६ दिनपछि थप जुम्ल्याहाको जन्म, चिकित्सक चकित

बीबीसी
बंगलादेशमा एउटा यस्तो घटना घटित भएको छ जसले त्यहाँको चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित छन् ।

२० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मेका बेला डाक्टरलाई उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा थिएन ।

पहिलो सन्तानलाई जन्म दिएको करिब एक महिनापछि आरिफ सुल्ताना नामकी युवतीले शल्यक्रियामार्फत् जुम्ल्याहा बच्चा जन्माइन् ।

तीन बच्चा र आमाको स्वास्थ्य ठिक भएको बताइएको छ ।

उनको उपचार गर्ने डा. शीला पोद्दाले एएफपीसँग भनिन्, ‘पहिलो सन्तानलाई जन्म दिएपछि उनको पेटमा अझै दुई सन्तान छन् भन्ने थाहा थिएन । २६ दिनपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी हाम्रो अस्पतालमा आएकी हुन् ।’

आरिफ सुल्तानाको पहिलो बच्चाको जन्म प्राकृतिक रुपमा भएको थियो , यद्यपी, उनको यो बच्चा समय अगावै जन्मिएको थियो ।



डाक्टरका अनुसार यो निकै दुर्लभ घटना हो किनभने महिलाका दुई गर्भाशय छन् ।

दुई गर्भाशय

बंगलादेशको न्यूज वेबसाइट बीडीन्यूज २४ सँग आरिफाका श्रीमान् सुमोन विश्वासले भने, ‘पहिलो सन्तानको जन्म भएको २६ दिनपछि उनी पुनः बिरामी भइन् । उनलाई अस्पताल पुर्याइयो जहाँ उनले थप दुई सन्तानलाई जन्म दिइन् ।’

आरिफाले सुरुमा छोरालाई जन्म दिएकी थिइन् । दोस्रो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिइन् ।

डा. शीला पोद्दारका अनुसार दोस्रो पटक अस्पताल लगेपछि आरिफाको अल्ट्रासोनेग्राफी टेस्ट गराइयो जसमा उनको दुई गर्भाशय  भएको पत्ता लाग्यो ।

‘पहिलो बच्चा पहिलो गर्भाशयबाट र जुम्ल्याहा बच्चा अर्को गर्भाशयबाट जन्मिएका हुन् ।’ उनले भनिन् ।

डा. पोद्दार भन्छिन्, ‘यो दुर्लभ घटना हो । मैले पहिलो पटक यस्तो घटना देखेको हुँ । यस्तो भएकोबारे कहिले पनि सुनेको पनि थिइनँ ।’

‘अल्लाहको चमत्कार’

तीन बच्चा र आमालाई मंगलबार सरकारी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

सरकारी डाक्टर दिलिप रोयका अनुसार उनले आफ्नो ३० वर्षको करियरमा यस्तो घटना पहिलो पटक देखेका हुन् । उनले डाक्टरमाथि लापरवाहीको आरोप लगाएका छन् । उनका अनुसार पहिलो सन्तान जन्माउने बेला नै महिलाका दुई गर्भाशय छन् भन्ने कुरा थाहा हुनुपर्ने उनले बताए ।

आरिफाका श्रीमान् सुमोन यो घटनालाई ‘अल्लाहको चमत्कार’ मान्छन् ।

सुमोन एक मजदुर हुन् र महिनामा उनी करिब आठ हजार रुपैयाँ कमाउँछन् ।

उनी भन्छन्, ‘म सबैलाई खुसी राख्ने कोसिस गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस