ललितपुर महानगरपालिकाका अमिन घुस रकमसहित पक्राउ

विहीबार, १४ चैत्र २०७५, २० : ५८
ललितपुर महानगरपालिकाका अमिन  घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका नक्शा शाखाका अमिन वीरेन्द्र चन्दलाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । 

जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निक्र्योल गरी सिफारिश गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी चन्दको थप अनुसनधान भइरहेको आयोगले जनाएको छ । 

यस्तै आयोगले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरका तत्कालीन उपप्रशासक शारदाकुमारी पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

त्यस्तै आयोगले नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक खेमराज कठायतको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरिएको छ । आयोगले नेपाल प्रहरीको अङ्गरक्षक गणका प्रहरी नायब निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै आजै मुद्दा दायर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस