Safal Khabar - आवश्यकता आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको
आइतबार, ०८ बैशाख २०७६ (Sunday, 21 April, 2019)
पत्रकारिता

आवश्यकता आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको
बिहिबार, १४ चैत २०७५, ११ : २०
आवश्यकता आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको

कृष्ण गिरी

नेपालमा आमसञ्चार क्षेत्रको गुणात्मक विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकताबारे बहस हुन थालेको लामो समय भइसकेको छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले पनि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै प्रतिष्ठान स्थापना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ को बुँदा नम्बर २.२० मा भनिएको छ– ‘पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउन आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवम् उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।’
 
त्यसैगरी, बुँदा नम्बर २.२१ मा ‘पत्रकारिता र सञ्चार क्षेत्रको इतिहास र प्रविधिको विकासक्रम झल्किने गरी सूचना तथा सञ्चार क्षेत्रमा प्रयोग भएका सामग्रीहरूको समूह र प्रदर्शनी, यस क्षेत्रका पुराना उपकरण, सामग्री तथा प्रकाशनको सङ्कलन र संरक्षण एवम् आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धानका लागि नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ’ उल्लेख छ ।

नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न सरकारसँग पटकपटक माग गर्दै आएको छ । महासंघले देशभरका सबै पत्रकारहरुलाई तालिम, अध्ययन, अनुसन्धान कार्यका लागि सहज होस् भनेर पूर्व–पश्चिमको लगभग केन्द्र भागमा पर्ने चितवन जिल्लामा बृहत क्षेत्रफलमा प्रतिष्ठानको केन्द्र स्थापना गर्नसमेत सरकारसँग माग गरेको छ । गोविन्द आचार्य नेतृत्वको वर्तमान कार्यसमितिले सरकारसँग यस्तो माग गरेको हो ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ आएको दुई वर्ष भइसक्दा पनि यसमा प्रतिबद्धता जनाइएअनुसार सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सकेको छैन । सरकारी तवरमा बेलाबखत यसबारे कुरा उठे पनि गठनका लागि उति धेरै तदारुकता देखाएको पाइँदैन ।

२०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा मिडिया उद्योग फस्टाएको छ । २०४७ सालको संविधानले प्रकाशन÷प्रसारण सम्बन्धी अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत ग¥यो । त्यसपछि नै नेपालमा व्यवसायिक पत्रकारिताको युग शुरु भयो, मिडियामा निजी क्षेत्रबाट लगानी बढ्न थाल्यो र उद्योगको रुप लिन सफल भयो । बहुदलीय व्यवस्थाको डेढ दशकसम्म नेपाली मिडियाले सामान्यतः स्वतन्त्र अभ्यास गर्ने मौका पायो । तर २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकारलाई सत्ताच्यूत गरी शासनसत्ता आफ्नो हातमा लिएपछि भने सञ्चारमाध्यममाथि नै पहिलो हमला भयो । शाही ‘कू’ को अवधिमा नेपाली सञ्चार उद्योग र पत्रकारहरुमाथि चर्को दमन र हतोत्साही गर्ने काम भयो ।
 
२०६२÷०६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएपछि भने नेपाली सञ्चारमाध्यम र पत्रकारहरुले राहतको श्वास फेर्न पाए । त्यसयता नेपाली सञ्चार जगतले प्रेस स्वतन्त्रताको उपभोगमा छिटपुट घटनाबाहेक ठूलो व्यवधान व्यहोर्नु परेको छैन । तर पत्रकारिता क्षेत्रको व्यवसायिक विकास गर्ने कार्यमा लोकतान्त्रिक सरकारलेसमेत ध्यान दिन नसक्दा यसको गुणात्मक विकासमा आशातीत उपलब्धि हासिल हुन नसकेको तीतो यथार्थ हाम्रासामु विद्यमान छ ।

नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । संविधानमा वाक स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाली आमसञ्चार माध्यमको सङ्ख्यात्मक बृद्धिसँगै गुणात्मक विकास पनि माथि उठेको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न पेशागत सङ्घसङ्गठन तथा पत्रकारहरुको आफ्नै बुता र निजी क्षेत्रका मिडिया संस्थाहरुको पहलमा गुणात्मक विकासमा केही उपलब्धि भने हासिल भएको छ । तर नेपाली पत्रकारितालाई अझ बढी व्यवसायिक, जिम्मेवार र जवाफदेही बनाउन जरुरी छ र त्यसका लागि पत्रकारहरुको दक्षता अभिवृद्धि, पेशागत विषयमा नयाँ नयाँ जानकारी प्राप्त गर्ने अवसर र पत्रकारिता क्षेत्रबारेको खोज अनुसन्धानलाई प्राथमिकता दिनुपर्दछ । जसरी राज्यले संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको छ, यसलाई व्यावहारिक रुपमा संरक्षण, सम्बद्र्धन गर्ने दायित्व पनि राज्यकै हुन्छ । त्यसैले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको नीतिलाई सरकारले नीतिमा मात्रै सीमित नराखी वास्तविकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता टड्कारो छ ।
 
नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस इन्स्टिच्यूट, मिडिया प्वाइन्ट, नेपाल वातावरण पत्रकार समूह, सञ्चारिका समूहलगायतले स्रोत जुटाएर पत्रकारहरुलाई पत्रकारिता तालिम प्रदान गर्ने गरेका छन् । तर आर्थिक स्रोतको अभावले त्यस्ता तालिमले निरन्तरता पाउन सकेका छैनन् । यी र अन्य केही संस्थाले प्रदान गरेका तालिम पाउने पत्रकारले जीवनमा एक÷दुईपटक पाएका त्यस्ता अवसरबाट सिकेको ज्ञानलाई आधार मानेर आधुनिक युगको प्रतिष्पर्धात्मक पत्रकारितालाई अगाडि बढाउनु परिरहेको छ ।

नेपाल प्रेस इन्ष्टिच्यूट, मिडिया प्वाइन्ट, सञ्चारिका समूहले आफूले प्रदान गर्ने तालिमका लागि केही पाठ्यक्रम ९ऋगचचष्अगगिm० तयार पारेका छन् । तर अन्य संस्थाले तालिमका लागि त्यस्तो कुनै पाठ्यक्रम तथा म्यानुअल तयार गरेका छैनन् । प्रशिक्षकले आ–आफ्नै ढङ्गले तालिम दिने गरेका छन् । यस्तो अवस्थामा पत्रकारिता तालिमका लागि गरिएका सबै लगानीले अपेक्षित परिणाम दिन सक्छन् भन्न सकिँदैन । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन भएमा प्रतिष्ठानले प्राज्ञहरुसँगको समन्वयमा पत्रकारिता तालिमको करिकुलम र म्यानुअलसमेत तयार पार्ने अपेक्षा गरिएको छ । त्यसैगरी, पत्रकार, सञ्चारकर्मीलाई प्रशिक्षण दिन मात्रै होइन दक्ष प्रशिक्षक उत्पादन गर्नका लागिसमेत आमसञ्चार प्रशिक्षण प्रतिष्ठान उत्तिकै आवश्यक छ ।

पत्रकारिताका विभिन्न आयामबारे खोज अनुसन्धान नेपाली पत्रकारितामा अत्यन्तै खट्किएको विषय हो । नेपाली पत्रकारिता क्षेत्रका विषयवस्तुमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, मार्टिन चौतारीलगायत विभिन्न संस्थाले बेलाबखत खोज अनुसन्धान गरेर प्रकाशन पनि गर्दै आएका छन् । कलेजका विद्यार्थीले तयार पार्ने शोधग्रन्थ कलेजकै दराजमा थन्किने गरेका छन् । विशेषगरी आर्थिक अभाव, दक्ष जनशक्तिको कमी तथा त्यसलाई नेतृत्व गर्ने बलियो संस्था नभएको कारण पत्रकारिता क्षेत्रका विभिन्न पक्षहरुबारे बृहत रुपमा खोज अनुसन्धान हुन सकेको छैन । नेपाली पत्रकारिता क्षेत्रका विविध पक्षहरुको गहिरो अध्ययन, अनुसन्धान गरी समस्या र आवश्यकताको पहिचान गर्न आवश्यक छ र त्यस्तो अध्ययन अनुसन्धानले निरन्तरता पाउनुपर्दछ । त्यसका लागि राष्ट्रिय आमसञ्चार नीतिमा व्यवस्था भएअनुसार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान तुरुन्त स्थापना गर्नुपर्दछ । यी दुई प्रतिष्ठान एक आपसमा सम्बन्धित हुनाले कार्यालय पनि सँगसँगै राख्नु उपयुक्त हुन्छ ।

नेपाल पत्रकार महासंघका १३ हजार ५० जना सदस्य छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिको श्रमजीजी पत्रकार पारिश्रमिक अध्ययन प्रतिवेदन २०७० मा उल्लेख भएअनुसार देशभरका मिडिया हाउसहरुमा करिव २५ हजार पत्रकार, ७५ हजार मजदूर र कर्मचारीसमेत गरी  एक लाखको हाराहारीमा जनशक्ति कार्यरत रहेको अनुमान छ ।

पत्रकारिता एउटा पेशा त हो नै खासमा समाज र समग्र राष्ट्रलाई नै दिशानिर्देश गर्ने एउटा महत्त्वपूर्ण जिम्मेवारी पनि हो । त्यसैले पनि नागरिकलाई सुसूचित गर्ने, हरेक क्षेत्रलाई राम्रोसँग दिशानिर्देश गर्ने, राज्यको चौथो अङ्गको रुपमा मानिएको पत्रकारिता क्षेत्रको विकासमा राज्यले लगानी गर्नैपर्छ । केही अन्तर्राष्ट्रिय दातृ निकाय र गैरसरकारी संस्थाले कहिलेकाहीँ पत्रकारिता तालिमका लागि सहयोग गर्ने गरेका छन् । त्यसभित्र अवश्यै उनीहरुको रुची लुकेको हुन्छ । त्यसैले पत्रकारहरुलाई दक्ष बनाउने कार्यमा राज्यकै लगानी आवश्यक पर्दछ । यसैका लागि हामीले भन्दै आएका हौँ, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान ।

राजनीतिक नेतृत्वले पत्रकारहरुका मञ्च पाउनेबित्तिकै नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा पत्रकारहरुको भूमिकाको प्रशंसामा समय खर्चिने र मख्ख पार्ने गरेका छन् । तर पत्रकारितालाई समृद्ध बनाउन सरकारबाट गर्नुपर्ने लगानीका सन्दर्भमा उनीहरु मौन रहने गरेका छन् । पत्रकारहरुको अध्ययन तथा दक्षता अभिवृद्धिमा उचित लगानी हुन नसक्दा पत्रकारिता क्षेत्रले अपेक्षित प्रतिफल दिन सक्दैन । राजनीतिक नेतृत्व र सरकारका प्रतिनिधिले पत्रकारहरुको भूमिकाको प्रशंसा गरेर मात्रै पुग्दैन अन्य क्षेत्रका लागि जस्तै पत्रकारिता क्षेत्रलाई पनि अब्बल बनाउन आवश्यक लगानी गर्नुपर्दछ ।

राज्यले हरेक क्षेत्रमा लगानी गर्छ, त्यसअनुरुप पत्रकारिता क्षेत्रको विकासका लागि पनि लगानी आवश्यक छ । जस्तो कि, शिक्षामा लगानीको विषयमा कुरा गर्दा कृषि र पशु विज्ञान अध्ययन गर्ने विद्यार्थी तथा यस क्षेत्रमा लामो–छोटो अवधिको तालिमका लागि राज्यले लगानी गरिरहेको छ । लगानी एउटा विद्यार्थी, एउटा व्यक्तिमा हुन्छ । तर त्यसबाट राज्यले प्रतिफल पाउने अपेक्षा गरिएको हुन्छ । उसले राज्यलाई योगदान गर्ने अपेक्षाले नै एकजना कृषि अध्ययन गर्ने (सरकारीमा) विद्यार्थीका लागि राज्यले लाखौँ रुपैयाँ लगानी गरेको हुन्छ । पत्रकारिता क्षेत्रबाट पनि समाज, राष्ट्रले प्रत्यक्ष, अप्रत्यक्ष लाभ प्राप्त गरिरहेको हुन्छ । त्यसैले यसका लागि आवश्यक लगानी गर्न सरकार हिच्किचाउनु हुँदैन ।
लोकतान्त्रिक राज्य व्यवस्थामा चौथो अङ्गको रुपमा मानिने पत्रकारिताले नागरिकको सूचनाको हक रक्षाका लागि, लोकतन्त्रलाई जीवन्त बनाइरहनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गीकरण गरेर लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै त आएको छ तर यसबाट पत्रकारहरुको ज्ञान, सीप अभिवृद्धिमा योगदान पुगेको मान्न सकिदैन । त्यसका लागि पत्रकारहरुले आफ्नो सीप तिखार्ने थलोको खोजी गरिरहेका र सरकारसँग आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि पटकपटक आग्रह गर्दै आएका हुन् ।

पत्रकारिता नागरिकमा सूचना, विचार प्रदान गर्ने क्षेत्र हो भन्ने सबैलाई थाहा छ । अर्कोतर्फ सञ्चार प्रविधिमा निकै परिवर्तन आइरहेको छ, जसको जानकारी बिना सञ्चारकर्म अब फिक्का हुन्छ । त्यसैले समय अनुकूल पत्रकारहरुको ज्ञान, सीप, दक्षता अभिवृद्धिमा समेत ध्यान दिनैपर्छ । लोकतन्त्रलाई मजबुत बनाउने हो भने यो राज्यकै दायित्व हो भन्ने सम्झनु पर्दछ ।

नेपालमा २०३० को दशकदेखि नै औपचारिक रुपमा पत्रकारिता शिक्षाको आरम्भ भएको हो । अहिले कक्षा ९ देखि विद्यावारिधि तहसम्म पत्रकारिता अध्ययन अध्यापन हुन्छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारिता शिक्षा अध्यापन गराइरहेका छन् । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा पत्रकारिता र सञ्चार विषयमा विद्यावारिधि तहसमेत छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तरमा अध्ययनका लागि स्नातक तहमा पत्रकारिता नै अध्ययन गरेको हुनुपर्ने प्रावधान छ । तर अन्य विश्वविद्यालयले यस्तो प्रावधान नराखे पनि अध्ययन शुल्क निकै महङ्गो छ ।
जुनसुकै विषयमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीहरुसमेत अहिले पत्रकारिता क्षेत्रमा आकर्षित भएको पाइन्छ । पत्रकारिता पेशामा आबद्ध हुनका लागि पत्रकारिता विषयमा नै उच्च शिक्षा हासिल गरेको हुनुपर्छ भन्ने त छैन तर पत्रकारिताका आधारभूतदेखि विशिष्ट ज्ञान, सीप, दक्षता हासिल गर्नु भने आवश्यक छ । पत्रकारिता गर्न वा पत्रकारिता गरिरहेको व्यक्तिले पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्नुको विशिष्ट महत्व हुन्छ । पत्रकारिता एवम् आमसञ्चार जस्तो प्रविधिसँगै चलायमान हुनुपर्ने र सधैँ नयाँ खोज भइरहने क्षेत्र भएकोले त्यसका लागि आवश्यक ज्ञान, सीप हासिल गरिरहनुपर्छ । नेपालमा विविधखाले जनशक्ति पत्रकारिता क्षेत्रमा क्रियाशील छ । अर्कोतर्फ उच्च तहको शिक्षामा समेत व्यवहारिक सीपलाई कम महत्त्व दिने गरिएकोले व्यवसायिक पत्रकार बन्नका लागि थप सीपको विकास गर्नु हाम्रो सन्दर्भमा अति आवश्यक छ । ‘घन घोटी बञ्चरो’ भनेझैं कार्यक्षेत्रमा रहेका पत्रकारहरुलाई पुनर्ताजगी प्रदान गर्न र नवप्रवेशीहरुलाई व्यवहारिक ज्ञान, सीप प्रदान गरेर दक्ष पत्रकार उत्पादन गर्न नेपालमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनामा अब ढिलाई गर्नु हुँदैन ।

नेपालमा पत्रकारिता क्षेत्रबाट धेरै आशा, अपेक्षा गर्ने गरिएको छ । जुन क्षेत्रबाट राज्यले यति धेरै आशा र अपेक्षा गरेको छ, त्यस क्षेत्रमा लगानीबिना प्रतिफल सम्भव छैन । पत्रकारिताको स्वरुप बदलिएको छ । हिजो लेटर प्रेसमा अक्षर मिलाएर पत्रिका छाप्ने पुस्तादेखि मल्टिमिडियाको प्रयोगमा अभ्यस्त पुस्तासम्म आज नेपाली पत्रकारितामा छ । परम्परागत हिसावको पत्रकारिताबाट अब ‘अडियन्स’को सूचना प्राप्त गर्ने चाहना पूरा गर्न सकिदैन । त्यसैले समय अनुसारको पत्रकारिताका लागि पत्रकारहरुको दक्षता अभिवृद्धि गर्न सरकारले तुरुन्त आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्नुपर्दछ । यस्तो महत्वपूर्ण प्रतिष्ठान स्थापनाको अवधारणा नीतिमा मात्रै सीमित राख्नु राज्यको लागि नोक्सानी हो । पत्रकारिताका विविध पक्षबारे अध्ययन, अनुसन्धान, प्रकाशन र समस्याको सम्बोधनसमेत गर्ने क्षमता, अधिकार राख्नेगरी स्थापना गरिने यस्तो थलो केवल पत्रकारहरुको मागको सम्बोधन मात्रै होइन समयको आवश्यकता समेत हो । (पत्रकारिताबाट)

प्रतिक्रिया दिनुहोस