ज्योति मगरलाई हेर्न खिचरा महोत्सवमा दर्शकको ओइरो

बुधबार, ०३ माघ २०७४, २२ : ३९
ज्योति मगरलाई हेर्न खिचरा महोत्सवमा दर्शकको ओइरो

चितवन । थारु समुदायको महान चाड माघी (खिचरा) को अवसरमा चितवनको खैरहनीमा आयोजित पाँचौं खिचरा महोत्सवमा बुधबार चर्चित गायिका तथा मोडेल ज्योति मगरलाई हेर्न दर्शकको ओइरो लाग्यो ।

कार्यक्रम संचालक करिश्मा थापा र राम रिमालले पटकपटक नाम बोलाएपछि दिउँसो ४ बजेतिर गायिका ज्योती मगर स्टेज चढेपछि महोत्सवमा तरंग छायो । करिब डेढ घण्टा स्टेजमा बिताएकी ज्योतिले ढाडे बिरालो, जिम्माल बाउकी छोरी लगायत आधा दर्जन गीत गाउँदै दर्शक झुमाइन् । छोटो पहिरनमा ज्योति स्टेज चढेपछि दर्शकहरुले लगातार हुटिङ गरेका थिए । ज्योतिले स्थानीय गायकसँग दोहोरी समेत गाइन् ।

ज्योति स्टेज चढ्नुअघि चर्चित लोकगायक रामजी खाँणले दर्शकलाई एकीकृत गरे । उनले फूल फूलेर पहेँलै भयो, झिमझिम गर्ने परेलीमा, मायाले नबोली नबोली फँसायो लगायत आधा दर्जन गीत गाउँदै दर्शकलाई उफारे । छैटौं दिनसम्म आइपुग्दा ६० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गत बिहीबार चर्चित गायक प्रमोद खरेल, सुरेश लामाको प्रस्तुति रहने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिनुभयो ।

“राष्ट्रिय एकता र विविधता हाम्रो सान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित जारी खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस