सिके राउतको जनमत पार्टी जन्मिँदा राजपालाई पीडा

नेता तथा कार्यकर्तामा दौडादौड र कुदाकुद सुरु

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०७५, १४ : १९
सिके राउतको जनमत पार्टी जन्मिँदा राजपालाई पीडा

काठमाडौँ । विखण्डनवादको आवरणमा राजनीति गर्दै आएका सिके राउतले सरकारसँग एघारबुँदे सहमति गरी जनमत पार्टी निर्माण गरेपछि सबैभन्दा बढी पीडा तराईका सामन्तहरुको पार्टीका रुपमा चिनिएको राष्ट्रिय जनता पार्टी (राजपा) लाई भएको छ । पछिल्लो पटक राजनीतिक मैदानमा राउतको प्रवेशपछि राजपा र उसका केही नेता तथा कार्यकर्तामा दौडादौड र कुदाकुद सुरु भएको छ ।

राजनीतिक चरित्र भएका महेन्द्रराय यादव र महन्थ ठाकुरहरुको केही चल्दैन राजपामा । मानका लागि मान जस्तो गरेर केही पद दिएपनि उनीहरु अल्पमत जस्ता छन् । राजेन्द्र महतो र शरदसिंह भण्डारी नेताभन्दा राजनीतिक व्यापारमा फस्टाएका छन् । तराईको जमिन्दारी, विहारी शैली अपनाउने काममा राजपा अग्रस्थानमा रहेको छ । राजनीतिक विषय भन्दा पनि जसरी भएप्नि पैसा कमाउ, पद र प्रतिष्ठामा रहुँ भन्ने मूल्य र मान्यताबाट गाइडेड छ राजपा ।

सरकारमा जान र केही थान मन्त्री बन्ने लालसा राखेका राजपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भाउ दिएनन् । कहीँ कतैबाट पनि भाउ नपाउने भएपछि केही न केही त गर्नुप¥यो भन्दै उनीहरुले आफूहरु बाध्य भएर राजनीतिक आन्दोलनमा लागेको बताएका छन् । उनीहरुको प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, राजपाले खास अर्थमा नै आन्दोलन गर्दैछ । तर बिल्कुल होइन । उनीहरु बार्गेनिङका लागि आन्दोलनको नाटक गर्दैछन् ।

राजपाले चाहिने भन्दा बढी भाउ खोजेको अवस्थामा प्रदेश नं २ को सरकारबाट समेत हात धुनुपर्ने अवस्था आउन सक्छ । सरकारमा नै भएको संघीय समाजवादी फोरमले राजपालाई जुनसुकै बेला पनि प्रदेश नं २ को सरकारबाट हटाइदिन सक्छ । सो प्रदेशमा नेकपा ठूलो शक्तिको रुपमा छ । बार्गेनिङका लागि राजनीति गर्ने राजपा चरित्रलाई पछिल्लो पटक सिके राउतले समेत तह लगाइदिएका छन् । अब राजपाको स्थानमा राउत समूह आउने भएपछि पनि उसलाई राजनीतिक आकाशबाट अस्ताउनु पर्ला भन्ने ठूलो चिन्ताले सताएको छ ।

हृदयेश त्रिपाठी समूह प्रतिनिधिसभाको निर्वाचन अगावै हटेको हो । उनीहरु नेकपाको चुनाव चिन्हबाट निर्वाचन लडे र विजयी पनि भए । तर राजनीतिक भन्दा पनि केवल लाभका लागि मात्रै आन्दोलन गर्ने हो भने राजपालाई भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन भने जस्तै हुने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस