इन्डोनेसियाली प्रहरी कारबाही एक नेपाली मारिए

एजेन्सी

बुधबार, ०३ माघ २०७४, १२ : ५२
इन्डोनेसियाली प्रहरी कारबाही एक नेपाली मारिए

इन्डोनेसिया । लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक नेपाली इन्डोनेसियाली प्रहरीको कारवाहीमा मारिएका छन् । ३४ बर्षीय शरणकुमार तामाङलाई सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जारी गरेका समाचारमा उल्लेख छन् ।

उनलाई सोधपुछका क्रममा प्रहरीको हतियार खोसेका कारण गोली हानेको उल्लेख छ । ‘हामीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका थियौँ, जकार्ता मेट्रो प्रहरीका प्रमुख कोम्बेस रोमा हुताजुलुले भने, ‘तर, उनले एक अफिसरलाई धकेल्दै हतियार खोस्ने प्रयास गरे । बाध्य भएर उनीमाथि गोली चलाउन पर्‍यो । यो घटना शुक्रबार बिहान पौन एक बजेको रहेको समाचारमा उल्लेख छ । तामाङको छातीमा गोली लागेको बताइएको छ ।

कोम्बेसले सेन्ट्रल जर्कार्ताको गुनुङ सहरी, सवाह बेसार क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा कारवाही अघि बढाएको थियो । तामाङलाई त्यसक्षेत्रमा रहेको एक बैंकको अगाडी लागुऔषध कारोबार गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उनीसँग होटल अल्फाइनको कार्ड र ५२ ग्राम लागुऔषध पनि फेला परेको प्रहरीको भनाई छ ।

पछि उनको होटलको २०४ नम्बर कोठामा खोजी गर्दा ३ दशमलव ४ केजी लागुऔषध पनि फेला परेको बताइएको छ । उनी कहिले, कसरी इन्डोनेसिया पुगे र नेपालमा उनको स्थायी ठेगाना कहाँ हो भन्ने समाचारमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस