आईपीएल खेल्न सन्दीप लामिछाने बुधबार भारत जाँदै

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, १६ : ४०
आईपीएल खेल्न सन्दीप लामिछाने  बुधबार भारत जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार राति भारत जाँदैछन् ।

अघिल्लो सिजन दिल्ली डेयरडेभिल्सको नामले आईपीएल खेल्दै आएको दिल्लीले यस सिजनदेखि दिल्ली क्यापिटल नाम राखेको हो । मार्च २३ देखि सुरु हुने आईपीएलमा दिल्लीले पहिलो खेल मार्च २४ मा मुम्बई इन्डियन्सविरुद्ध मुम्बईमा खेल्दैछ । 

दिल्लीबाट सन्दीपले दोस्रो सिजन खेल्दैछन् । उनले गतबर्ष ३ खेल खेल्दै ५ विकेट लिएका थिए । सुरुमा बेन्चमा राखिएका सन्दीपलाई दिल्लीले अन्तिम तीन खेल खेलाएको थियो । 

हाल अस्ट्रेलियाका पूर्वकप्तान रिक्की पोन्टिङ प्रशिक्षक रहेको दिल्लीमा भारतका पूर्व खेलाडी मोहमद कैफ सहायक प्रशिक्षक छन् । यसैगरी टोलीका खेलाडीहरुमा श्रेयस ऐर कप्तान, ऋषभ पन्त, शिखर धवन, पृथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, इशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम र आवेश खान छन् । 

टोलीका अन्य खेलाडीमा ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल, जलज सक्सेना र अक्षर पटेल रहेका छन् । 

विश्वका चर्चित लिग खेलिरहेका नेपालका सन्दीपलाई यसपटक दिल्लीले दिने भूमिका चासोको विषय बनेको छ । आईपीएलको ११औं संस्करण सकिएपनि दिल्लीले अहिलेसम्म उपाधि जितेको छैन । दिल्ली सन् २०१२ मा तेस्रो भएको थियो । 

प्रतिक्रिया दिनुहोस