नवदम्पतीबीच यौन जीवनलाई कसरी मर्यादित बनाउने?

शनिबार, २५ फागुन २०७५, २१ : १४
नवदम्पतीबीच यौन जीवनलाई कसरी मर्यादित बनाउने?

विवाहपछि नवदम्पतीबीच यौन जीवनलाई कसरी मर्यादित बनाउनुपर्छ ?

 जिज्ञासा : आर, काठमाडाैँ।

उत्तर डा. सुमनराज ताम्रकार :

परिपक्व उमेर, अपर्याप्त चिनाजानी एवं यौन शिक्षाको अभावमा विवाहको पहिलो रात मात्र नभई त्यसपछिको यौन जीवन नै तनावपूर्ण बन्न सक्छ। गोप्यता, एकान्त वातावरणको अभाव तथा गर्भ रहला कि भन्ने चिन्ताले पनि सुरुका केही रातका यौन सम्बन्ध त्यति सफल हुँदैन।

प्राक्क्रीडा, सफल यौन प्रतिक्रिया चक्र, चरम सुख, अनिच्छित गर्भ, आकस्मिक गर्भ निरोध, सुरक्षित सेक्स, सुरक्षित मासिक चक्रको आवश्यक जानकारीको अभावमा नवदम्पतीले भरपुर यौन आनन्द लिन सक्दैनन्। 

विवाहको पहिलो रात र हनीमुन समयावधि यौन क्रियाकलापलाई लिएर धेरै उत्ताउलोपन देखाउनु हुँदैन। बरु, जीवनसाथीको इच्छा, भावना कदर गरी यौन क्रियाकलाप गर्नुपर्छ। प्राक्क्रीडामा यथेष्ट समय दिएको खण्डमा दुवै पार्टनरलाई राम्रो हुन्छ।

यसो गर्दा पछिका दिनमा यौन सम्बन्ध राख्न सजिलो हुन्छ। विवाहको पहिलो रातमै यौन सम्बन्ध राख्नै पर्छ, महिला पार्टनरको हाइमेन नामक योनि ढाक्ने झिल्ली च्यातिनै पर्छ, हल्का पीडासँगै रगत बग्नै पर्छ भन्ने गलत धारणा हाम्रो समाजमा व्याप्त छ।

तर, साइकल चढ्ने, बाइक चढ्ने, घोडा चढ्ने युवतीमा योनिद्वारको झिल्ली (हाइमेन) सजिलै च्यातिन सक्ने हुनाले कुमारीत्वको विषयमा मनमुटाव हुनु हुँदैन।

नेपालमा गरिएका विभिन्न अध्ययनअनुसार विवाहलगत्तै गर्भवती हुने, बच्चा पाउनेको संख्या उल्लेख्य छ। त्यसैले पनि नेपाली समाजमा विवाहलाई यौन सम्बन्ध राख्ने सामाजिक मान्यताको रूपमा लिइने गरेको छ। सामाजिक डरबाट उन्मुक्त भएर यौन कार्य गर्न सकिने भएकोले यसको महत्व छ। 

दाम्पत्य जीवन प्रगाढ बनाउन एवं यौन जीवन सुमधुर बनाउन आफ्नो पार्टनरले पनि उत्तिकै यौन सन्तुष्टि प्राप्त गरे-नगरेको हेक्का राख्नुपर्छ। दैनिकजसो वा एकरातमै धेरै पटक यौन सम्बन्ध राख्नुभन्दा कहिलेकाहीँ छुट्टी वा आरामपछि झन् बढी मज्जाको अनुभूति हुन सक्छ। विवाहको पहिलो रातलाई नै यौन सम्बन्ध राख्ने एउटा एवं अन्तिम अवसर ठान्नु
भएन। यसलाई यौन जीवनको सुरुवाती बिन्दु मान्नुपर्छ। 

मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्ये सायद यौन कार्यको क्रममा प्राप्त हुने चरमसुख उत्तम कोटिको हो। पुरुषहरूमा चरमसुख अलि चाँडो प्राप्त हुन्छ भने महिलाहरूमा लामो समयको अन्तरालपछि मात्र प्राप्त हुन्छ। यस कुराको हेक्का श्रीमान्ले राख्नुपर्छ। र, यौन कार्यको क्रममा प्राक्क्रीडालाई महŒव दिएको खण्डमा दुवै पार्टनरले चरमसुख प्राप्त गर्न सक्छन्। विवाहलगत्तै पटक–पटकको यौन सम्पर्कपछि पिसाबको संक्रमण हुन सक्छ। यसै गरी केही समयसम्म प्रत्येक पटकको यौन कार्यपश्चात् हल्का रक्तस्राव हुन सक्छ।

कतिपय दम्पतीले विशेष गरी महिला पार्टनरले यौन सम्पर्कका क्रममा सामान्यभन्दा बढी पीडा भएको बताउँछन्। जसलाई मेडिकल भाषामा ‘डिस्परेउनिया’ भनिन्छ। योनिरस पर्याप्त मात्रामा उत्पादन नभई योनि सुक्खा भएमा, भयातुर वा यौन कार्यको डरका कारणले यौनांग वरिपरिको मांसपेशी संकुचन भएमा, जीर्ण प्रकारको स्त्री जनेन्द्रियसम्बन्धी संक्रमण भएमा एवं महिनावारीपश्चात् सानो पेट (पाठेघर) वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) भएकामा पीडादायी यौन सम्पर्कको समस्या हुन्छ। 

लिंग नउठ्ने समस्या भएका पुरुषले यौन उत्तेजना बढाउने खालका औषधि प्रयोग गर्न सक्छन्। तनाव वा डरको प्रतिकूल परिस्थितिमा एवं स्थानमा, हतारमा यौन सम्पर्क राख्न खोजे पनि लिंग उत्तेजित नहुने समस्या आउँछ। यसबारे हेक्का राख्नुपर्छ। विवाह गरेको एकाध महिना, वर्षमै बच्चा भयो भने थप जिम्मेवारी आई वैवाहिक जीवनको मज्जामा कमी आउन सक्छ भनेर कतिपय दम्पतीले केही वर्ष बच्चा पाउन चाहँदैनन्। 

कतिपय पुरुषमा छिटो वीर्य स्खलन हुने समस्या हुन सक्छ। यसको पक्का कारण थाहा नभए पनि मानसिक कारणले यसो हुन सक्छ। यौन कार्यको निकै समयअघि त्यससम्बन्धी सोचमा नडुब्ने, यौन सम्पर्क गर्दा रोक्ने तथा सुरु गर्ने, आसन परिवर्तन गर्ने, लिंगको फेद अँठ्याउने, कन्डम प्रयोग गर्ने, वीर्य स्खलन नियन्त्रणको अभ्यास गर्ने गरेको खण्डमा आत्मविश्वास बढ्न गई शीघ्र पतन समस्याबाट छुटकारा पाउन सकिन्छ। 

हल्का मद्यपानले यौन कार्यमा मद्दत पुग्ने भए पनि सुरक्षाको दृष्टिले अर्थात् आफ्नो श्रीमतीलाई सुरक्षा प्रदान गर्नुपर्ने हुनाले मात्ने गरेर चाहिँ मद्यपान गर्नु हुँदैन।

डिम्ब निष्कासन, यौन सम्पर्कको क्रममा वीर्य स्खलन, डिम्ब निषेचन, डिम्ब रोपणले गर्भ रहन्छ भन्ने ज्ञान हुनुपर्छ। त्यसर्थ, प्रत्येक महिलाको महिनावारी चक्रअनुसार गर्भ रहने अवधि थाहा पाइराख्नुपर्छ। गर्भ रहन सक्ने यस अवधिमा कन्डम एवं कमलको प्रयोग गर्नुपर्छ भने बाँकी समयमा कन्डमबिनै पनि यौन सम्पर्क राख्न सकिन्छ।

भर्खरै विवाहित जोडीको लागि गर्भ रहन नदिन उचित परिवार नियोजनको साधन कन्डम नै हो। कन्डम सही तरिकाले प्रयोग गर्न जान्नुपर्छ। यौन सम्पर्कका क्रममा कन्डम फुटेमा यौन सम्पर्क तत्काल रोक्ने, लिंग निकाल्ने, यौनांग सफा गर्ने गर्नुपर्छ। र, आपत्कालीन गर्भको समाधानको लागि पिल्स चक्की वा असुरक्षित यौन सम्पर्कको पाँच दिनसम्म कपर टी प्रयोग गर्न सकिन्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस