पसलमा महिला छिन् कि पुरुष हेर्छन् । महिला भए पुरुष ग्राहक आउन्न, पुरुष भए महिला । वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन् । जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस् न ।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन् । प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन् । पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ । स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन् । यस्तो व्यवहार देख्दा लाग्छ, ती व्यक्तिले जे किने त्यसको पोल खुल्यो भने बर्बादै हुन्छ तर किनेका हुन्छन्, कण्डम ।
शहरी दृश्य नै हो माथिको ।
समाज बद्लिँदै छ तर शहर होस् या ग्रामीण भेग– परिवार नियोजनको साधन कण्डम बारेको धारणा उस्तै देखिन्छ ।
कण्डम यौन सम्बन्धसँग मात्र जोडिने पाटो हैन, स्वास्थ्यसँग समेत जोडिन्छ । एड्स लगायतका सरुवा रोगबाट जोगिने उपाय पनि अस्थायी साधन कण्डमै त हो !
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित छन् । त्यसमा १९ हजार २० पुरुष र १२ हजार महिला रहेको केन्द्रका उपस्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईँ बताउँछन् ।
नेपालको वयस्क (१५ देखि ४९ वर्ष उमेर समूह) जनसंख्यामा एचआइभीको व्याप्तता दर ०.५ प्रतिशत छ । अध्ययनअनुसार नेपालमा करिब ७७ प्रतिशत एचआइभी संक्रमण कण्डमबिना गरिने यौन सम्पर्कले भएका छन् । यसबाहेक करिब १० प्रतिशत व्यक्तिमा विभिन्न यौनजन्य रोग देखिएका छन् ।
यही तथ्यांकले देखाउँछ, कण्डम केवल यौन मनोरञ्जनका लागि मात्रै प्रयोग हुने साधन हैन, यो गम्भीर रोगबाट जोगाउने साधन पनि हो । तर यो पनि स्वास्थ्यका अन्य साधन जस्तै हो भन्ने सोचको विस्तार हुन नसक्दा कण्डम शब्दै उच्चारण गर्न अधिकांश अझै हिच्किचाउँछन् ।
हिजो टेलिभिजनमा ‘झिल्केदाइ छ–छैन कण्डम’ भन्ने विज्ञापन बज्दा जसरी संकोच मान्थे, अहिले पनि उस्तै अवस्था देखिन्छ । अरुले सुन्ने गरी कण्डम भन्न पनि लाजले भुतुक्कै हुन्छन् अहिलेको पुस्ता ।
३१ वर्षीय अभिनेता सुशान्त कार्कीकै अनुभव पढौँ न ।
उनी अहिले पनि कण्डम किन्न बढो लजाउँछन् रे ! कण्डम किन्न गएको पसलमा महिला विक्रेता छिन् भने त उनी कण्डमै नकिनी फर्किन्छन् । भिडभाड भए पनि किन्दैनन् ।
सुनसान भएपछि सानो स्वरमा माग्छन् र दायाँबायाँ कसैले देख्लान् कि भनेर स्वाट्टै गोजीमा हालेर हिँड्छन् ।
महिलाले प्रयोग गर्नसक्ने कण्डम पनि बनिसकेको छ । आवश्यक परे नेपालमा पनि किन्न सकिन्छ तर अधिकांश महिला आफूले प्रयोग गर्ने भन्दा पनि आफ्नो पार्टनरका लागि कण्डम किन्न मेडिकल स्टोर जान्छन् । र, उनीहरुको व्यवहार पनि पुरुषको भन्दा भिन्न हुँदैन ।
कोटेश्वरस्थित रिया फार्मेसीका सञ्चालक प्रदीप देवको अनुभवमा धेरैजसो महिलाले बाहिर अर्कै कागजले प्याकिङ गरेर मात्र कण्डम किनेर लैजान्छन् ।
‘भिडभाड भएको समयमा महिलाले कण्डम किन्दैनन्,’ देवले अनुभव सुनाए, ‘पर्खिएर, भिडभाड हटेपछि मात्र कण्डम किन्छन् ।’ महिला र पुरुष ग्राहक एकैचोटि पसलमा आए भने दुवै लजाउने गरेको उनले सुनाए ।
उनको अनुभवमा कण्डम मात्रै हैन, महिला–पुरुष दुवै आई–पिल, नीलोकनजस्ता अस्थायी साधन किन्न पनि उत्तिकै संकोच मान्छन् ।
‘कण्डम किन्न आउने अधिकांश २५ वर्षभन्दा माथिका हुन्छन्,’ देवले भने, ‘कसैले खोल सहितै लैजान्छन्, कसैले खोल पसलमै फ्याँकेर लैजान्छन् । कण्डम, किन्दा आँखासमेत जुधाउन सक्दैनन् । शहरी क्षेत्रमा पनि यसरी लजाएको देख्दा म छक्कै पर्छु ।’ शुक्रवारबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २३ फागुन २०७५, २१ : ३९
लेखकबाट थप