पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित, उडान बन्द गराउने महानगरको चेतावनी

पत्रपत्रिकाबाट

विहीबार, २३ फागुन २०७५, ०६ : ५०
पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित, उडान बन्द गराउने महानगरको चेतावनी

पोखराका प्याराग्लाइडिङ कम्पनीले चार वर्षदेखि नवीकरण नगरीकनै व्यवसाय गरिरहेका छन् । ५६ मध्ये ५५ कम्पनीले चार वर्षदेखि नवीकरण गरेका छैनन् । पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले पटक–पटक आग्रह गर्दा पनि प्याराग्लाइडिङ कम्पनीहरूले नवीकरण गर्न अटेर गरेको बताए । प्रत्येक कम्पनीले आर्थिक वर्ष ०७२/७३ देखिको एकमुष्ठ नवीकरण शुल्क ८६ हजार र प्रदेश पर्यटन शुल्कबापत एक लाख बुझाउन बाँकी छ । यो  समाचार रोहितराज पराजुलीले नयाँ पत्रिकामा लेखेका छन् ।

महानगरका राजस्व शाखाका वरिष्ठ आन्तरिक लेखापरीक्षक अधिकृत रोमनाथ उपाध्यायले ०७२/७३ को ५ हजार ५ सय, ०७३/७४ को ५ हजार ५ सय, ०७४/७५ को ५० हजार र चालू आव ०७५/७६ को २५ हजार गरी प्रत्येक कम्पनीले नवीकरणबापत ८६ हजार शुल्क बुझाउनुपर्नेछ । यस्तै, प्रदेश सरकारले तोकेको पर्यटन शुल्कबापत प्रत्येकले वार्षिक एक लाख बुझाउनुपर्ने उनले बताए । 

नेपालभर प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने गरी ६० कम्पनी दर्ता भएका छन् । त्यसमध्ये पोखरामा कम्पनी खोलेका ५६ मध्ये माउन्ट भ्यु प्याराग्लाइडिङ कम्पनीले मात्रै नवीकरण गरेको महानगरले जनाएको छ ।

एकैपटक १० गुणा शुल्क वृद्धि 
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले आर्थिक वर्ष ०७४/७५ देखि प्याराग्लाडिङ नवीकरण शुल्क १० गुणले वृद्धि भएपछि विरोधस्वरूप नतिरेको दाबी गरे । ०७२/७३ र ०७३/७४ मा ५ हजार ५ सय तोकिएको शुल्क ०७४/७५ मा एकैपटक १० गुणाले बढाएर ५० हजार बनाइएको उनले बताए । चालू आवमा ५० प्रतिशत घटाएर २५ हजार बनाएकाले के आधारमा बढाएको र के कारणले घटाइएको हो केही नबुझेको उनको भनाइ छ । 

तर, महानगरले भने प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीसँग पर्यटक शुल्कबापत रकम लिने भएपछि नवीकरण शुल्क घटाएको जनाएको छ । नवीकरणबापतको सबै रकम महानगरको खातामा जम्मा हुने तथा पर्यटन शुल्कबापतको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेश सरकारको हुने महानगरका राजस्व आलेप अधिकृत उपाध्यायले जानकारी दिए ।

उडान बन्द गराउने महानगरको चेतावनी
नवीकरण नगर्ने प्याराग्लाइडिङ कम्पनीलाई बुधबारदेखि उडान भर्न नदिने निर्णय महानगरले गरेपछि प्याराग्लाइडिङ व्यवसायीले एक साताभित्र सबै शुल्क तिर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले नवीकरणका लागि प्याराग्लाइडिङ कम्पनीलाई एक साता प्रतीक्षा गर्ने बताए । त्यसपछि पनि शुल्क नतिरे उडान भर्न नदिने उनले बताए । अधिकांश उडान महानगरको १८ नम्बर वडामा रहेको सराङकोटबाट हुने गर्छ । महानगरले १९ फागुनमा पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउन वडा कार्यालयलाई अधिकार दिएको छ । 

प्रतिक्रिया दिनुहोस