पूर्वराजा ज्ञानेन्द्रको भ्रमण स्थगित

पत्रपत्रिकाबाट

विहीबार, २३ फागुन २०७५, ०६ : ४६
पूर्वराजा ज्ञानेन्द्रको भ्रमण स्थगित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण एक साताका लागि स्थगित भएको छ । करिब डेढ महिनादेखि दमक बस्दै आउनुभएका ज्ञानेन्द्रको हिजो बुधबारदेखि हुने ५ दिन लामो धार्मिक भ्रमण स्थगित भएको हो ।

आमा एवम् पूर्वमुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अकस्मात् बिरामी परेपछि उहाँको भ्रमण एक साता पर धकेलिएको हो । नर्भिकमा भर्ना हुनुभएका ९१ वर्षीया रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ज्ञानेन्द्र हिजो बुधबार दिउँसो काठमाडौं फर्किनुभएको छ । विमानस्थलबाट उहाँ सिधै नर्भिक अस्पताल पुग्नुभएको हो ।

एक सातादेखि रुघा, खोकीलगायतका कारण अस्वस्थ रत्नको एन्टिबायोटिकका कारण पखाला लाग्ने र कमजोर भएपछि मंगलबार भर्ना गरिएको थियो । उहाँलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुनेलगायत छातीमा देखिएको समस्याको कारण अस्पताल भर्ना गरिएको थियो ।

‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ । आजै घर जाआंै भनिरहनुभएको छ तर चिकित्सकले केही दिन राख्नुपर्ने सुझाव दिएको कारण उहालाई केही दिन अस्पताल राख्नुपर्ने भएको छ’, स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘स्वास्थ्य ठीक भएर होला उहाँ अस्पताल बस्नै मान्नुभएको छैन ।’

महेन्द्र मञ्जिलमा बस्दै आउनुभएकी उहाँलाई निजी चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डेले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुग्नुभएका ज्ञानेन्द्रले चिकित्सकसँग पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ । रत्नको अवस्थाबारे जानकारी लिन पूर्वमहारानी कोमल, पूर्वयुवराज पारस, नाति हृदयन्द्र, नातिनी प्रेरणालगायत सबै आफन्त नर्भिक अस्पताल पुगेका छन् ।

हिजो काठमाडौं आउनुभएका पूर्वराजा ज्ञानेन्द्र आइतबार पुनः झापा जाने कार्यक्रम रहेको छ । २६ गते झापा पुगेपछि ३० गतेदेखि तराईका धनुषा, सार्लाही, उदयपुर र सप्तरी भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । तर आमा रत्नको स्वास्थ्य अवस्था जटिल भए उहाँको भ्रमण अझै केही दिन पर सर्न सक्छ । मंगलबार बेलुकीदेखि नै रत्नको स्वास्थ्यमा सुधार आएकाले आइतबार झापा फर्किने र आगामी बिहीबारबाट मध्यतराईको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

उहाँ जनकपुरस्थित सीता होटलमा बस्ने र त्यहींबाट तराईका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यतालिका रहेको छ । हिजो बुधबार २ बजे दमकबाट जनकपुर जाने कार्यक्रम तय भएको थियो । पूर्वराजा ज्ञानेन्द्रका संवादसचिव डा. फणीराज पाठकले विज्ञप्ति जारी गरी पूर्वबडामहारानी रत्नको स्वास्थ्यमा केही समस्या देखिएपछि पूर्वराजा काठमाडौं आउनुभएको र हाललाई अर्को जानकारी नभएसम्म भ्रमणको कार्यक्रम स्थगित भएको उल्लेख गर्नुभएको छ । मध्यतराईको भ्रमणलगत्तै उहाँले राजनीतिक भेटघाट गर्नुुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस