कहिल्यै नगरौँ यस्ता गल्ती

बुधबार, २२ फागुन २०७५, २१ : २२
कहिल्यै नगरौँ यस्ता गल्ती

दैनिक जीवनमा हाम्रा कैयौँ स्वास्थ्य कमजोरी गर्छौं । झट्ट हेर्दा ती साना लाग्छन् । यद्यपि, तिनले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेका हुन्छन् । यस्ता समस्याले एकैपटक नभएर बिस्तारै–बिस्तारै ग्रसित बनाउँदै लैजान्छन् । अब जानौँ, नजानीकनै हामी कस्ता गल्ती गरिहेका हुन्छौँ ?

ब्रेकफास्ट नलिने
सबैभन्दा महत्वपूर्ण भोजन हो, ब्रेकफास्ट । ब्रेकफास्ट नलिँदा दिनभरिलाई असर गर्छ । हर्मोनल असन्तुलन, स्मरणमा समस्या र मुड खराब भइरहने हुन्छ । यसका साथै मेटाबोलिज्म ढिला हुन जान्छ । जसले तौल बढाउनुका साथै शरीरलाई सिथिल बनाउन थाल्छ ।

पानी नपिउने
शरीरमा पानीको कमी हुँदा थकाइ लाग्ने, छाला सुक्खा हुने, झन्झट लाग्ने, कुनै कुरामा केन्द्रित हुन नसक्ने र सिर्जनशीलतामा कमी हुनेजस्ता समस्या आउन थाल्छ । यसका साथै प्रतिरक्षा प्रणालीमा समेत समस्या देखिन सक्छ । त्यसैले पानी पिएर शरीरलाई सधैँ हाइड्रेट राख्नुपर्छ ।

गलत तरिकाले बस्ने
शरीर पर्फेक्ट भए पनि गलत तरिकाले बस्ने बानीले शारीरिक समस्या निम्तिने गर्छ । गलत बसाइले कम्मर दुख्नुका साथै पेट लाग्ने समस्या पनि हुन्छ । त्यस्तै, गलत पोस्चरले मसल्स बनाउँदा पनि पिठ्युँको लचकतालाई कम गर्न सक्छ । जसका कारण हल्का बस्दा पनि दुख्न सक्छ ।

अपर्याप्त निद्रा
लगातार पर्याप्त ननिदाउँदा दिनभर शरीर थकित हुनुका साथै झन्झट लाग्ने हुन्छ । जसका कारण डिप्रेसन हुने खतरासमेत उत्तिकै रहन्छ । यस्तो बानीले उच्च रक्तचाप र कोलस्ट्रोलको पनि समस्या निम्त्याउँछ । 

पेनकिलरको बढी प्रयोग
मसल्स पेन हुँदा कतिपयले इबुप्रोफेन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिको बढी प्रयोग गर्छन् । यस्तो औषधिको प्रयोगले अल्सर, पेटको दुखाइ, उच्च रक्तचाप, हृदयाघातलगायत समस्या निम्तिन सक्छ । यस्ता औषधिले केही समयका लागि त तपाईंलाई आराम दिन सक्छ । तर, दीर्घकालीन रूपमा गम्भीर असर पार्छ । त्यसैले डाक्टरको सल्लाहविना कहिल्यै पनि पेनकिलर प्रयोग गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस