आयुक्त पाठक प्रकरण : झाले भने - ‘७८ लाख बुझाएको हुँ’

पत्रपत्रिकाबाट

बुधबार, २२ फागुन २०७५, ०६ : ५६
आयुक्त पाठक प्रकरण : झाले भने - ‘७८  लाख बुझाएको हुँ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्। आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

झाले भनेका छन्, ‘पाठकलाई एकपटक ४० लाख र अर्कोपटक ३८ लाख रकम दिएको हुँ।’ अख्तियारले झासँग शुक्रबार, आइतबार र मंगलबार बयान लिएको छ। ‘न्यौपानेको कलेजमा विवाद रहेछ। साथीभाइका नाताले न्यौपानेले एकपटक आयुक्तसँग भेट्ने कुरा गर्नुभयो,’ झाले लिखित बयानमा भनेका छन्, ‘दसंैअगाडि राजनारायणसँग भेट गराएको हुँ। न्यौपानेले आफ्ना कुरा राख्नुभयो, पाठकले सहयोग गर्छु भन्नुभयो।’

झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। शुभनारायणलाई तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागको डिन बनाइएको थियो। छोरीलाई पढाउन भनेर शुभनारायणले झासँग १५ लाख रकम लिएका थिए। उनले त्यो रकम फिर्ता गरेनन्। झाले पाँच वर्षअघि जनकपुरमा इन्जिनियरिङ कलेजको सम्बन्धन मागे पनि शुभनारायणले दिएका थिएनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्ले ले लेखेका छन् ।

यहीबीचमा नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेसँग झाको सम्पर्क भयो। ‘व्यक्तिगत रूपमा मैले राजनारायणलाई चिनेको थिइनँ, भाइमार्फत चिनेको हुँ,’ उनले भनेका छन्। राजनारायणले लम्बोदरलाई भेटको ४÷५ दिनपछि झालाई फोन गरेर साथीको मुद्दा मिलाइदिने वचन दिएका थिए। ‘एक करोड ६५ लाखमा काम हुन्छ भने। त्यसपछि म र लम्बोदर चकित पर्‍यौं,’ बयानमा उल्लेख छ, ‘मलाई बोलाएर पैसा ल्याउन भने। डुबेको १५ लाख पछि फिर्ता गरिदिन्छु भने।’ राजनारायणको प्रस्तावप्रति चासो नदिएपछि अख्तियारबाट फोन आएको उनले जनाएका छन्। ‘अख्तियारबाट घरमा पुलिस पठाएर उठाउँछु, लम्बोदरलाई सुनाइदिनू भनेर फोन आयो’, झाको बयानमा उल्लेख छ, ‘लम्बोदर डराएर दुईपटक गरी ७८ लाख रुपैयाँ ममार्फत पाठकलाई बुझाएका हुन्।’

पैसा लिएर काम नगरिदिएपछि अडियो–भिडियो तयार गर्न थालेको झा बताउँछन्। यसपछि सत्तापक्षका एक प्रभावशाली नेतालाई भेटेर राजनारायणको कर्तुतबारे कुरा राखेको उनको बयानमा उल्लेख छ। ‘उनले सहयोग गर्ने वचन दिए। धेरै मान्छेलाई राजनारायणले दुःख दिएको थियो,’ उनले भनेका छन्।

६ महिनाअघि नै पाठक घुस प्रकरणको भिडियो सत्तारूढ दल नेकपामा उपनेता सुवासचन्द्र नेम्बाङलाई बुझाइएको थियो। त्यतिबेला नेम्बाङले डा. गोविन्द केसीको आन्दोलन चलिरहेका कारण केही समय पर्खन अनुरोध गरे। नेम्बाङलाई बुझाएको तीनचार महिनापछि मात्रै उक्त कुरा सार्वजनिक भएको हो। सत्ता पक्षबाटै पाठकलाई महाअभियोग लगाउने तयारी भएपछि उनले ३ गते राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस