भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै

पत्रपत्रिकाबाट

बुधबार, २२ फागुन २०७५, ०६ : ४८
भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै

सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ ।

भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर, सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो, अहिलेसम्म जडान हुन सकेको छैन । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाउने गरिएको छ । 

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचन भन्छन्–इमर्जेन्सी एक्सरे ६ महिनादेखि बन्द छ
ट्रमा सेन्टरको इमर्जेन्सीमा दैनिक ७० देखि ८० बिरामी आउँछन्, तर सिटी स्क्यान मेसिन बिग्रिएको छ । अप्रेसन गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि बिग्रिएको छ । त्यस्तै, इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । भारत सरकारले दिएको उपकरण भएकाले नेपालका प्राविधिकले मर्मत गर्न मानेका छैनन् । यो अवस्थामा ट्रमा सेन्टरले चाहेजस्तो सेवा दिन सकेको छैन । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन कोठाको अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ । यो समाचार अर्जुन अधिकारी
ले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस