आईसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

एजेन्सी

सोमबार, ०१ माघ २०७४, १८ : ३६
आईसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

आईसीसी विश्वकप क्रिकेट छनोट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सन् २०१९ मा हुने विश्वकप क्रिकेटको लागि यहि बर्ष हुने छनोट खेलको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार छनोट प्रतियोगिता मार्च १ तारिखदेखि २५ मार्चसम्म हुनेछ । छनोट खेलको समूह ए मा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी रहेका छन् । त्यस्तै, यसै समुहमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता रहने छ ।

समूह वि मा अफगानिस्तान, टेष्ट राष्ट्र जिम्बाब्वे, स्कटल्याण्ड र हङकङ रहेका छन् । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता रहने छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ नामिवियामा आगमी फेब्रुअरी ८ देखि १५ तारिखसम्म हुँदैछ । डिभिजन २ मा आयोजक नामिवियासँगै नेपाल, युएई, केन्या, ओमन र क्यानाडा रहेका छन् ।

नेपाल, नामिविया, केन्या र युएई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा हुँदै डिभिजन २ मा झरेका हुन् । यता, क्यानाडा र ओमन भने डिभिजन ३ को विजेता र उपविजेता बन्दै डिभिजन २ मा उक्लिएका हुन् ।

नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा छ । पुषबाट अभ्यास थालेको नेपाली टिम टियु क्रिकेट मैदानमा अभ्यास थालिरहेको छ । नेपालको लक्ष्य डिभिजन २ जित्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस