चितवन च्याम्पियनसीप ट्रफीको उपाधि चितवन क्रिकेट क्लबले उचाल्यो

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १६ : ०९
चितवन च्याम्पियनसीप ट्रफीको उपाधि चितवन क्रिकेट क्लबले उचाल्यो

चितवन । १६ औं मेयर्स चितवन च्याम्पियनसीप ट्रफीको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । आज सोमबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा कलैया क्रिकेट क्लब बारालाई ५४ रनले पराजित गरी चितवनले उपाधि उचालेको हो ।
उपाधिसाथ चितवनले १ लाख रुपैयाँ र ट्रफी पाएको छ । उपविजेता कलैयाले ५० हजार रुपैयाँ नगद र ट्रफी पायो । म्यान अफ द सिरिज चितवनका दिपेश श्रेष्ठले पाउँदा बेस्ट बलर चितवनकै किशोर महतो घोषित भए । बेस्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल घोषित भए ।
फाइनल खेलमा पहिले ब्याटिङ गरेको चितवनको सुरुआत राम्रो हुन सकेन । ओपनर आकाश थापा १ रन र सन्तोष न्यौपाने २ रनमा पेभेलियन फर्किएपछि अप्ठ्यारोमा परेको चितवनलाई राम कार्की र दिपेश श्रेष्ठले केही उकासे । राम ३१ र दिपेश २६ रनमा आउट भए । चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।

तर, सामान्य लाग्ने ११० रनको लक्ष्यमात्रै पछ्याएको कलैयाको अवस्था सुरुदेखि नै दयनीय देखियो । फाइनल खेलको म्यान अफ दी म्याच बनेका किशोर महतोले एकपछि अर्को विकेट लिएपछि कलैया धरापमा प¥यो । फाइनल म्याचमा ४ ओभर बलिङ गरी ९ रन मात्रै खर्चेर ५ विकेट लिएका किशोरले पहिलो र चौथो ओभरमा दुई–दुई विकेट लिए । ३ रनको कूल स्कोरमा ३ विकेट गुमाएको कलैयाले १२ रन पु¥याउँदा ७ विकेट गुमाइसकेको थियो । त्यतिबेलासम्म किशोरले अमित श्रेष्ठ, तीर्थराज दास र अनिल अन्सारीलाई गोल्डेन डक गरिसकेका थिए ।

आठौं विकेटका लागि शिव तण्डुकार र कुमार थापाले २९ रनको साझेदारी गरेर केही आशा जगाएपनि ४१ रनमा शिव तण्डुकारको विकेट गुमेपछि फेरि इनिङ धर्मरायो । त्यसपछि कुमार थापा ११ रनको स्कोरमा गौतम केसीबाट बोल्ड भए भने आशुतोष पटेल ५ रनको व्यक्तिगत स्कोरमा रनआउट भएपछि आएका भुलवन सहनी किशोरकै बलमा बोल्ड भए । कलैया १२.३ ओभरमा ५५ रनमात्रै बनाएर अलआउट भयो ।
विजयी टिम तथा खेलाडीलाई प्रमुख अतिथि नारायणगढका पुराना व्यवसायी तथा बालकुमारी माध्यमिक विद्यालयका अध्यक्ष देसीराम प्रधान, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, चितवन क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानलगायतले पुरस्कार प्रदान गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा ६ वटा टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस