हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी  शेर्पाको अन्त्येष्टि

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, १४ : ४२
हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी  शेर्पाको अन्त्येष्टि

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्येष्टि गरिएको छ ।
आइतबार वौद्ध परम्पराअनुसार काठमाडौंको टेकुघाटमा उनको अन्त्येष्टि गरिएको हो । 

उनलाई शुक्रबार टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएपश्चात परिवारले बालुवाटारस्थित आफ्नो निवास तर्फ लगेका थिए । हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस