‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि

शुक्रबार, १७ फागुन २०७५, १३ : २९
‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि


काठमाडौँ । अखिल नेपाल फटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । 

बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ । 

पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि दुबै समूहको शीर्ष दुई स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चरणमा पुग्न सफल भएका थिए । 

अन्तिम चरणमा चार क्लबबीच कूल छ खेल हुनेछ । पहिलो दिन आज सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा दोस्रो खेल टुसाल युथ क्लब र आरसिटी क्लब खेल हुनेछ । 

यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ । 

छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुनेछ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए । 

लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बी’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस