बाग्लुङ जिल्लाले सबैभन्दा बढी खेलाडी सहभागी गराउन पाउने

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १७ : ४२
बाग्लुङ जिल्लाले सबैभन्दा बढी खेलाडी सहभागी गराउन पाउने

चितवन । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चितवनको भरतपुरमा भएको उसु खेलको प्रदेश स्तरीय छनौट प्रतियोगितामा गण्डकी प्रदेशबाट बाग्लुङ जिल्लाले सबैभन्दा बढी खेलाडी सहभागी गराउन पाउने भएको छ ।

फागुन १३ देखि भएको खेलमा बाग्लुङ जिल्लाले १२ वटा स्वर्ण पदक प्राप्त गर्दै १२ जना खेलाडी सहभागी गराउन पाउने भएको राष्ट्रिय खेलकुद परिषद्का उसु प्रशिक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै राष्ट्रिय खेलकुदका लागि कास्कीबाट ६ जना, तनहूँबाट दुई जना, म्याग्दीबाट एक जना र नवलपुरबाट एक जना खेलाडी छनौट भएका छन् । गण्डकी प्रदेशबाट २२ जना खेलाडीको कोटा भएको उसु प्रतियोगिताको प्रदेश स्तरीय छनौटमा ६ जिल्ला सहभागी भएका थिए ।

गण्डकी प्रदेशको खेलसँगै चितवनको भरतपुरमा फागुन ५ देखि सुरु भएको प्रदेश स्तरीय छनौट प्रतियोगिता सकिएको छ । प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशको छनौट प्रतियोगिता चितवनमा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्भनामा श्रद्धाञ्जलि गरी प्रदेशस्तरीय प्रतियोगिताको समापन गरिएको थियो ।

समापन कार्यक्रममा जिल्ला खेलकुद विकास सममितिका अध्यक्ष गंगालाल लामाले खेलकुदले आफ्नो मात्रै नभएर राष्ट्रलाई समेत चिनाउने भएकाले खेललाई निरन्तरता दिन खेलाडीसँग आग्रह गरेका थिए । खेलकुदले व्यक्तिलाई अनुशासीत हुन सिकाउने भएकाले खेल क्षेत्रमा लागेका व्यक्तिहरुमा अन्यको भन्दा बढी राष्ट्रियता हुने लामाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस