काँग्रेस केन्द्रीय समिति बैठकमा गएनन् पौडेल र सिटौला पक्ष

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १५ : ३७
काँग्रेस केन्द्रीय समिति बैठकमा गएनन् पौडेल र सिटौला पक्ष

काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्ष अनुपस्थित भएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा उपस्थित भएका थिए । 

काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूहरुले बैठकमा सर्वसम्मत रुपमा पार्टीको अनुशासन समिति गठन गरिनुपर्ने माग अघि सारेको तर सभापतिले त्यसमा सुनुवाई नगर्ने देखिएपछि बैठकस्थलबाट बाहिरिएको जानकारी दिए । पार्टीका एक नेताका अनुसार बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला र केसीसहित नेताहरु प्रकाशमान सिंह, प्रदीप पौडेल, रामशरण महत लगायतका पौडेल र सिटौलापक्षीय नेताहरु रहेका छन् । 

उनीहरुले बहुमतको आधारमा निर्णय गरेर पार्टी बन्न नसक्ने भन्दै सहमतिको आधारमा अनुशासन समिति लगायतका अन्य निर्णयहरु गरिनुपर्ने माग गरेका छन् । नेताहरुको वहिस्कारपछि बैठक स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस