चितवन । २०५१ सालको कुरो हो, महिना ठ्याक्कै उनले सम्झन सकेनन् । गाउँकै स्थानीयले भारत गएर कृत्रिम खुट्टा राखेर आएको खबर नौ डाँडासम्म फैलियो । यो खबर भर्खर एसएलसी दिएर बसेका विष्णुप्रसाद अर्यालको कानसम्म ठोक्कियो ।
बुटवल सैनामैना नगरपालिका वडा नं ४ का अर्यालले गाउँका स्थानीयले कृत्रिम खुट्टा हालेर ठमठमी हिँडेको देखे पनि । नेपालका कृत्रिम खुट्टा हाल्ने अवस्था नभएपछि भारत गएर कृत्रिम खुट्टा हालेको दृष्यले अर्याललाई क्लिक गरेको थियो । मनमनै सोचे, ‘कृत्रिम खुट्टा हाल्न भारत जानपर्ने, म यो काम सिक्न सक्छु कि सक्दिनँ !’ आखिरी असम्भव नै के छ र ! उनमा आँट, जोस र जाँगर भरियो ।
एसएलसी दिएर बसेका युवा । खाली समय । उनमा यस्तो हुटहुटि चल्यो–कृत्रिम हातखुट्टा बनाउने तालिम लिने । सोधखोज गर्न थाले, कहाँ यस्तो अवसर मिल्छ । धेरै ठाउँमा बझ्दै हिँडे उनले ।
खोज्दाखोज्दै फेला पारे उनले कृत्रिम हात खुट्टा बनाउने ठाउँ । त्यो ठाउँ थियो–समर्पण विकलाङ्ग पुनर्वास केन्द्र रामरहिनधाम उत्तर प्रदेश भारत । जहाँ तालिम पनि दिनेरहेछ भन्ने उसले बुझेँ । सामन्य घरसल्लाहमै हानिए विष्णु उत्तर प्रेदश भारत ।
एक वर्षको तालिम लिए उनले त्यहाँ । यति छिटो सिके उनले कृत्रिम हातखुट्टा बनाउन, त्यहाँका गुरुलाई समेत चकित पारे । त्यो बेलाको स्मरण गर्दै उनी भन्छन्, ‘अरुलाई दुई वर्ष लाग्ने कोर्ष, मैले एक वर्षमा नै पूरा गर्न सकेँ ।’
सोही तालिमको प्रतिफलले अहिले अर्यालले ‘भगवान’ उपनाम पाइरहेका छन् । भरतपुर १२ स्थित चितवन अर्थोसहयोगी सामग्री सेन्टर सञ्चालन गरेर बसेका अर्यालले यतिबेला हातखुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा हालेर सबैका ‘भगवान’ बनिरहेका छन् ।
त्यतिबेला उनलाई कतिले के यस्तो काममा लाग्यो होला खुरुखुरु नपढेरसमेत भनेका थिए । खाने मुखलाई जँुगाले छेक्दैन, अरुले भन्दैमा उनको बाटो मोडिएन । उनले अर्जुनदृष्टि लगाए कृत्रिम हातखुट्टामा । उनले पढाइसँगसँगै कृत्रिम हातखुट्टा बनाउने कलालाई अगाडि बढाए । एक वर्षको तालिमपछि तत्काल उनी आफैँले केही गर्न सकेनन् । लागे जागिरतिर ।
भारतबाट तालिम लिएर फर्केपछि अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपामा जागिर खाए । एक वर्षको तालिमले उनी दक्ष भइसकेका थिएनन् । मेवालिटी इण्डिया बेंगलोरमा गएर उनले कृत्रिम हातखुट्टासम्बन्धी २ वर्ष लगाएर थप कोर्स गरेका थिए । २२ सयबाट सुरु गरेको जागिर २४ हजार पुगेको थियो, तर उनी जागिरबाट वाक्क भइसकेका थिए ।
‘आफ्नो सुरले काम गर्न नपाइने जागिर भएपछि, कोही त्यस्तो व्यक्ति हुन्छन्, जसलाई निःशुल्क सेवा गर्न पर्छ, त्यो पनि नपाइने । अनि बाटो मोडर आफैँले केही गर्ने आँट गरेको हुँ’ उनी गुनासिए ।
२०६८ सालमा जन्माएका हुन् उनले चितवन अर्थोसहयोगी सामग्री सेन्टर । उनी भन्छन्, ‘मैले बनाइदिएको कृत्रिम खुट्टाले हिँड्न नसक्नेहरु हिँड्न पाएका छन्, हातले लेख्न नसक्नेहरुले लेख्न पाएका छन् । खेल्न नसक्नेहरु खेल्न पाएका छन् । दैनिक जीवन सहज गरिरहेका छन् ।’
कृत्रिम हातखुट्टा निर्माणमा उनले समय बिताएको २४ वर्ष पूरा भएको छ । यो २४ वर्षमा कतिको हातखुट्टा बनाए त उनले ? ठ्याक्कै सम्झना त के हुन्थ्यो र ! ‘पाँच हजारभन्दा बढी नेपालीलाई मैले कृत्रिम हातखुट्टा हालेको छु’ उनले अनुमान लगाए । व्यक्तिको अवस्था हेरेर कतिलाई निःशुल्क सेवासमेत गरेको उनी बताउँछन् ।
उनी भन्छन्, कृत्रिम हातखुट्टा हालेका मान्छेहरु आएर ‘तपाइँ त मेरो भगवान’ हुनुभएको छभन्दा त्यो बेला लाग्छ, समाजमा मैले पनि अपाङ्गता भएका मान्छेहरुलाई केही गर्न सकेछु ।’
उनले कृत्रिम खुट्टामात्र होइन, जन्मजात हातखुट्टा बाङ्गो हुनेलाई सहायक सामग्री दिएर सोझो बनाउने कामसमेत गर्दै आएका छन् । उनले भने, ‘चितवन अर्थोसहयोगी सामग्री सेन्टर खोलेको ३ वर्ष पूरा भयो, यो समयमा मैले ५०० भन्दा बढीको जन्मजात हातखुट्टा बाङ्गो भएकालाई सहायक सामग्री दिएर सोझो बनाएको छु ।’
उनका अनुसार कृत्रिम खुट्टाभन्दा कृत्रिम हात बनाउन गाह्रो छ । एउटा खुट्टा बनाउन तीन दिन लाग्छ । हात भने एकै दिनमा पनि बनाउन सकिन्छ । जति तल्लो लेभलमा हातखुट्टा काटियो, त्यति बनाउन सहज हुन्छ । पीडितलाई पनि सहज हुन्छ । कृत्रिम हातखुट्टा राखिसकेपछि पनि दुईतीन दिन हिँड्नको लागि तालिम दिनुपर्छ ।
कृत्रिम खुट्टा हालेकाहरु अहिले मोटरसाइकल चलाउने, फुटबल खेल्नेलगायत दैनिक जीवनमा गर्नुपर्ने सम्पूर्ण काम गर्न सक्छन् । उनले भने, ‘हिजोको दिनमा घरमै घ्रिसेर हिँड्नेहरुलाई पुनः जीवन दिएको महसुस भएको छ, त्यसैले उनीहरु भेट्न आएर ‘भगवान’ भन्दा त्यो बेलाको खुुसी अन्त कहाँ भेटिन्छ र ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ फागुन २०७५, १२ : ५७
लेखकबाट थप