प्रचण्डको पहलमा शारदानगर–चनौली खण्डको रुप फेरिँदै

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १४ : ४०
प्रचण्डको पहलमा शारदानगर–चनौली खण्डको रुप फेरिँदै

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर ३ का सांस्द पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा शारदानगर–चनौली सडक खण्डको रुप फेरिँदै छ ।
यस खण्डमा बुङ्बुङती धुलो उड्न थालेको १० वर्ष भयो । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने सडकले १० वर्षपछि निकास पाउने भएपछि स्थानीयबासीहरु यतिबेला खुसीले गद्गद भएका छन् ।
०६४ सालदेखि धूलो खाँदै आएका स्थानीयको घरदेखि बारीका हरिया तरकारी धुलाम्य हुन्थे  । अब छिटै ती दिन सकिने लक्षण देखिएको छ । कालोपत्रे सडक निर्माणका लागि काम सुरू भएको देख्न पाइएको छ ।
साह्रै सास्ती दिएको सडकको निर्माणका लागि स्थानीयले भरतपुर महानगर प्रमुख रेनु दाहालदेखि प्रदेश सांसद् कृष्णप्रसाद भूर्तेल तथा पूर्वप्रधानमन्त्री प्रचण्डसम्म चर्को दबाब दिनु भएको थिए । अन्ततः सडक निर्माण प्रक्रिया धमाधम अघि बढेको छ । महानगर प्रमुख दाहालले छिटोभन्दा छिटो सडक निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सो सडकमा अहिले हुन लागेको कालोपत्रे पहिलो भने होइन । सोही सडकमा यसअघि भएको कालोपत्रे भत्केर धुजाधुजा हुँदा पनि १० वर्षसम्म सडक निर्माण कार्य हुन नसक्दा यात्रुहरुले थप सास्ती भोग्नु परेको थियो ।


शारदानगरको धर्मोदय चोकदेखि चनौली बजारसम्मको सडकको काम तीव्ररुपमा भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चार किलोमिटरको सडक कालोपत्रे हुन लागेको सडक डिभिजन कार्यालय भरतपुरकी इन्जिनियर गीताञ्जली कोइरालाले बताउनुभयो ।

पाँच करोड ७७ लाखमा मृत सञ्जीवनी विराज एण्ड ब्रदर्शले सडक कालोपत्रे गर्न लागेको हो । ठेकेदार पक्षसँग २०७६ असार ३० गतेसम्म निर्माण सक्ने गरी सम्झौता भएको इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । नेपाल सरकारको सडक विभागअन्तर्गत कालोपत्रे गर्ने काम भएको उहाँ बताउँनुहुन्छ । उहाँले भन्नुभयो ‘सो सडकमा कुनै समस्या छैन, उक्त सडक निर्माणमा अर्थले बजेट स्वीकृत गरिसकेको छ, यहाँसम्म आउनमात्र बाँकी छ ।’

ब्रदर्शका सञ्चालक राजु सडौलाले छिटोमा फागुन अन्तसम्म र ढिलोमा चैत दोस्रो वा तेस्रो सातासम्म कालोपत्रेको काम सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाला बनाउने काम सकियो, ग्राभेलिङको काम भइरहेको छ ।’ उहाँले चनौली बजारको केही पोल सार्ने काम बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार अहिले बन्न लागेको पिचले मेघौली जानेसम्मको नयाँ पिचलाई जोड्नेछ । सडक डिभिजन कार्यालयका अनुसार उक्त सडकको चौडाइ ७ मिटर र पिचको मोटाइ ५० एमएमको रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस