गुगलबारे केही रोचक तथ्य, दुई सय बाख्राले पनि गुगलमा जागिर खान्छन्

एजेन्सी

शनिबार, ११ फागुन २०७५, १२ : ००
गुगलबारे केही  रोचक तथ्य, दुई सय बाख्राले पनि गुगलमा जागिर खान्छन्

सूचना र सञ्चारको वर्तमान युगमा गुगल सहज तरिकाले जानकारी प्राप्त गर्ने माध्यम बनेको छ । गुगलमा सर्च गरेर हामीलाई आवश्यक र उपयोगी धेरै कुरा प्राप्त गर्न सक्छौँ ।
अब जानौँ गुगलबारे केही रोचक तथ्य :

- प्रतिवर्ष गुगलमा दुई सय खर्बभन्दा बढी कुरा सर्च गरिन्छ । यसको मतलब प्रत्येक एक सेकेन्डमा ६० हजारभन्दा बढी कुरा खोजिन्छ । 
-गुगल सर्चमा केही कुरा खोजी गर्दा यसको नतिजा देखाउनुअघि गुगलले दुई सयभन्दा बढी साइट ध्यानमा राखी खोजी गर्छ । यो काम यति छिटो गर्छ कि एक सेकेन्डमै सबै नतिजा स्क्रिनमा देखाउँछ । 
- गुगलमा दुई सय बाख्रालाई जागिर दिइएको छ । गुगलले आफ्नो वरिपरि रहेको भू–भागमा उम्रेको घाँस खुवाउन ती बाख्रालाई जागिर दिएको हो । मेसिनले घाँस काट्दा आवाज र धुलो आउने र गुगलको इनोभेसनमा काम गर्ने कर्मचारीलाई डिस्टर्ब हुने भएकाले बाख्राको प्रयोग गरिएको हो । 
- इन्टरनेटमा प्रत्येक वेबसाइट प्रयोगकर्ताले आफ्नो वेबसाइट सबैभन्दा धेरै प्रयोग गरून् भन्ने चाहन्छन् । तर, गुगल मात्रै एउटा यस्तो साइट हो, जसले प्रयोगकर्ताले साइटमा बिताउने समय घटाइरहेको छ । 
- गुगलको भिडियो सेवा युट्युब पनि निकै चर्चित छ । तथ्यांकअनुसार विश्वमा हरेक महिना ६ अर्ब घन्टा युट्युबमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झन्डै एक घन्टा भिडियो हेर्छन् । 
- गुगल सर्चमा राखिएको सामग्रीको सूचीको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेनड्राइभमा राख्ने हो भने एक टेराबाइट क्षमताका एक लाखवटा पेनड्राइभ आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस