सोधपुछको क्रममा पुलिसले अपराधीको घाँटीमा दुई मिटर लामो सर्प बेरिदिएपछि...(भिडियो)

एजेन्सी

शुक्रबार, ०३ फागुन २०७५, १८ : १६
सोधपुछको क्रममा पुलिसले अपराधीको घाँटीमा दुई मिटर लामो सर्प बेरिदिएपछि...(भिडियो)

- अडिटी सेन्ट्रल
एजेन्सी । हामीले सुन्ने गरेका छौं, पुलिसले अपराधीबाट वास्तविकता ओकल्न चरम यातना दिने गर्छ । तर यहाँ एउटा यस्तो भिडियो भाइरल भएको छ जसले यातनाको सबै हद पार गरेको छ ।

इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएपछि पुलिसले माफी मागेको छ ।

इन्डोनेशियाका मानव अधिकारकर्मीले वेस्टर्न न्यू गिनीमा  सोधपुछका लागि सर्प प्रयोग गरेको घटनाको घोर विरोध गरेको छ । सोसल मिडियामा भाइरल भएका भिडियोमा नाङ्गो खुट्टा भएका, हात बाँधेका व्यक्तिलाई एक पुलिस अधिकारीले जिउँदो सर्प मुखमा तेर्साउँदै प्रश्न सोधिरहेको देख्न सकिन्छ । ती पुलिसले उक्त सर्प उनको मुखभित्र र पाइन्ट भित्र हालिदिने चेतावनी पनि दिइरहेका छन् । पछि, उक्त सर्प कथित मोबाइल चोरको घाँटीमा पनि बेरिदिएको देख्न सकिन्छ ।
‘तैंले कति पटक मोबाइल चोरेको छस् ?’ कथित चोरमाथि ती पुलिसले चिच्याएर सोधिरहेका छन् । यसको जवाफमा आत्तिएका ती व्यक्तिले भन्छन्, ‘दुई पटक मात्र ।’

स्थानीय पुलिस प्रमुख टोनी आनन्द स्वादयले यसबारे वक्तत्व जारी गर्दै सोधपुछमा सर्पको प्रयोग गरेकोमा माफी मागेका छन् । उनले मिडियाले उक्त घटनालाई अतिरञ्जित गरेको पनि आरोप लगाए । उनले सर्प विषालु नभएको र आरोपी खतरामा नभएको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस