समृद्धिको यात्रामा अगाडि बढिसक्यौँ : प्रधानमन्त्री ओली

बुधबार, ०१ फागुन २०७५, २० : ४३
समृद्धिको यात्रामा अगाडि बढिसक्यौँ : प्रधानमन्त्री ओली

फाईल तस्विर

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढिसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले स्पष्ट नीति र कार्यक्रमका साथ समृद्धिको बाटो समातिसक्यौँ, अब विकास हुन्छ ।”

गोल्छा सङ्गठन र हेस्टर बायोसाइन्सेस लिमिटेड भारतको संयुक्त लगानी रहेको बनेपा नगरपालिका–३ शेरास्थित हेस्टर बायोसाइन्सेस नेपाल प्रालिको भवन उद्घाटन समारोमा प्रधानमन्त्री ओलीले भन्नुभयो,“बहुमतको सरकार छ, सरकारलाई हामी कहाँ छौँ, कहाँ पुग्ने, कसरी पुग्ने भन्नेबारे राम्रोसँग थाहा छ, सरकार अहिलेको कुरा बुझेरै अगाडि बढेको छ ।” प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नै आफ्नो कार्यकाल सकाएर अर्को संसदीय निर्वाचन गराउने जिकिर गर्नुभयो । उहाँले थप्नुभयो, “निर्वाचनपछि अर्को सरकार के बन्छ, अहिल्यैदेखि मान्छे तर्साउने काम नगरौँ ।”

नेपालमा लगानी गर्न वातावरण सहज भएकाले उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लगानी गर्ने वातावरण राम्रो बनेको छ, संसारका कुनै पनि व्यक्ति वा समूहले निःसन्देह लागनी गरे हुन्छ, केही समस्या भए सरकारले मध्यस्तता गर्नेछ ।” प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले नेपाल अब हलो–कोदालो मात्रै हैन, राष्ट्रिय आवश्यकतामा आधारित विज्ञान, प्रविधिमुखीतर्फ उन्मुख रहेकामा खुशी व्यक्त गर्दै नेपालमा खपत भई निर्यातसमेत गर्न सक्ने खालका उद्योग स्थापनाले आफू गौरवान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च प्रविधिमा आधारित ज्ञान, उत्पादन जसले निर्यात गर्छ, हामी यस्तो उद्योगको कल्पना गरौँ ।”

प्रधानमन्त्री आलीले हेस्टर कम्पनीले पशुपक्षीका लागि भ्याक्सिन उत्पादन गरेकामा शुभकामना दिँदै यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ नयाँ प्रविधिका उद्योगले रोजगारी सिर्जना गर्दछ ।”

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रका लागि सहज र पहुँचयोग्य भएको बताउँदै अन्य देशमा यस्तो उदाहरण पाउन मुस्किल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानीको वातावरण बनाउन औद्योगिक नीतिमा थप सुधार गर्नुपर्नेछ, अब उद्योगलाई एकद्वार प्रणालीबाट सेवा दिने पूर्वाधार तयार गर्न धेरै समय लाग्दैन ।” उहाँले नेपालमा लगानीको वातावरण छैन भन्नेलाई नयाँ उद्योग स्थापनाले गतिलो जवाफ दिएको बताउनुभयो ।

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सरकारले एकीकृत करप्रणालीको वातावरण मिलाई दिए नयाँ नयाँ उद्योग स्थापना गर्ने बताउनुभयो । हेस्टर बायोसाइन्सेस नेपाल प्रालिका प्रबन्ध निर्देशक राजीव गान्धीले आफूहरुसँग पशुमा लाग्ने रोग निको पार्ने भ्याक्सिन उत्पादन गर्ने उन्नत प्रविधि रहेको दाबी गर्नुभयो ।

गोल्छा सङ्गठनका कार्यकारी निर्देशक शेखर गोल्छाले हेस्टरले उच्च प्रविधिको प्रयोगमा कुखुरा तथा चौपायलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गरिरहेको बताउँदै यस उद्योगले दुई करोड डोज भ्याक्सिन निर्यात गरिसकेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस