गंगानगर दुग्ध सहकारीको रजत महोत्सव सुरु

सफल खबर संवाददाता

बुधबार, ०१ फागुन २०७५, १६ : ५५
गंगानगर दुग्ध सहकारीको रजत महोत्सव सुरु

चितवन । भरतपुर महानगरपलिका वडा नम्बर २२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको रजत महोत्सव आज बुधवारदेखि सुरु भएको छ । निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेर सहकारीले रजत महोत्सवको सुरुवात गरेको हो । शिविरमा अम्बर माध्यमिक विद्यालयले प्राविधिक सहयोग गरेको थियो ।

रजत महोत्सव अन्तर्गत सहकारीले फागुन २ गते बरौजी प्लटिङमा निःशुल्क पशु स्वास्थ्य शिविर, फागुन ३ गते संस्थाको कार्यालयमा व्यावसायिक युवालक्षित तालिम, ४ गते डेरीस्तरीय लोकगीत कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार फागुन ५ गते रक्तदान कार्यक्रम, फागुन ६ गते हाजिरी जवाफ प्रतियोगिता, नमुना फार्मको उद्घाटन, वृद्धवृद्धा सम्मान हुनेछ । फागुन ७ गते नवनिर्मित भवनको उद्घाटनसहित विभिन्न कार्यक्रम समपन्न हुने आयोजकले जानकारी दिएको छ ।

६० लाखको लागतमा निर्मित भवनको उद्घाटन प्रदेश तीनका भूमि व्यवस्था तथा कृषि मन्त्री दावा दोर्जे लामाले गर्नुहुनेछ । रजत महोत्सव समपन्न गर्नको लागि ५ सय १ सदस्यीय मूल आयोज समिति र ५१ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।

भरतपुर महानगरपालिका २२ धनौजीमा रहेको गंगानगर दुग्ध सहकारीले भरतपुर महानगरपालिकाको वडा नम्बर १३ गंगानगर र वडा नम्बर १४ बरौजीमा समेत दुग्ध संकलन गर्दै आएको छ । १ सय ७१ शेयर सदस्य रहेको यस सहकारीमा दैनिक ४ हजार लिटर दूध संकलन हुन्छ । संस्थाको वार्षिक कारोबार ८ करोड ९९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस