हिमपातले खुलेन मार्तडी–कोल्टी सडक

सोमबार, २८ माघ २०७५, २० : २६
हिमपातले खुलेन मार्तडी–कोल्टी सडक

फाईल तस्विर

प्रेम रौले

मार्तडी । जिल्लामा मौसममा एकाएक परिवर्तनसँगै लगातर आएको पानी र हिमपातका कारण उत्तरी भेगसँग जोेडिएको मार्र्तडी–कोल्टी सडक एक महीना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । सडक नखुलेपछि यात्रुले कठिनाइ भोग्दै आएका छन् ।

यातायात नियमित हुन नसक्दा मार्तडीबाट कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका जिप र ट्र्याक्टर मार्तडीमै थन्किएका छन् । वर्षासँगै आएको हिउँ पोरखे काँधक्षेत्रको सडकमा जमेका कारण कठिनाई भएको हो ।

भारी हिमपातपछि थुप्रिएको हिउँ अझै पग्लिएको छैन । हिउँ नपग्लिँदा हिमाली क्षेत्रको जनजीवन अझै कष्टकर रहेको छ । अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै जमेको छ । त्यसले गर्दा पनि सडकमा यातायातका साधन चल्न सकेका छैनन् । हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने बताइएको छ । हिउँका कारण पोरखे काँधमा यातायातका साधन जान नसक्ने भएकाले उत्तरी भेगमा जाने यात्रुले दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको छ । सो क्षेत्रमा हिउँ जमेकाले कोल्टीबाट र मार्तडीबाट जिप र मालबाहक ट्र्याक्टरसमेत आवतजावत गर्न नसकेको व्यवसायीको भनाइ छ ।

उत्तरी भेगको कोल्टीका लागि छुटेका जिप भने बडीमालिका नगरपालिका–७ ढम्कनेसम्म मात्र जाने गरेको जय मालिका यातायात प्रालिका अध्यक्ष पृथ्वी रावलले बताउनुभएको छ । उहाँले उत्तरी भेगमा सञ्चालन हँुदै आएको यातायात नियमित गर्न पोरखे काँधमा जमेको हिउँ बडीमालिका र बूढीनन्दा नगरपालिकाले नहटाउने हो भने सवारी साधन त्यसतर्फ जान नसक्ने बताउनुभयो ।

वर्षाका कारण मार्तडी–कोल्टी सडकखण्ड अप्ठ्यारो बन्दै गएकाले यातायातका साधन चल्न नसकेको जय मालिका यातायातका प्रालिका अध्यक्ष रावलको भनाइ रहेको छ । पोरखे काँधमा जमेको हिउँ पग्लन अझै दुई साता लाग्न सक्ने व्यवसायीको भनाइ छ ।

माघ पहिलो सातादेखि शुरु भएको पानीसँगै हिमपातका कारण उक्त क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ । हिउँ बढी जमेका कारण मान्छेलाई समेत निकै कठिन हुने गरेको छ । मार्तडी र कोल्टीमा आवतजावत गर्ने उत्तरी भेगका स्थानीयले हिँडेरै यात्रा गर्नुपरेको बताइएको छ । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले सो क्षेत्रमा जमेको हिउँ र मार्तडी–कोल्टी सडकको अवस्थाका बारेमा फागुन २ गते स्थलगत अध्ययन गरी सडक खोल्ने कार्य शुरुआत गर्ने बताउनुभएको छ ।

जमेको हिउँ तत्काल सफा गर्दा पुनःहिमपात भएमा दोहोरो खर्च हुने भएकाले मौसम अनुमान महाशाखासँग मौसमको अवस्थाबारेमा बुझेर सडक नगरपालिकाले खोल्ने कार्य शुरु गर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाको टोली मार्तडीदेखि पोरखे काँधसम्मको सडकको अवस्था अवलोकन गरिसकेपछि मात्र सडक खोल्ने कार्यको थालनी हुने बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिनुभएको छ ।

टेलिफोन आउने जाने हुँदा समस्या
लगातारको वर्षा र हिमपातका कारण उत्तरी भेगमा रहेको टेलिफोन सेवा पनि नियमित हुन सकेको छैन ।

उत्तरी भेगको कोल्टी क्षेत्रमा टेलिकमको टावरले काम नगर्दा सम्पर्कविहीन भएको छ । टेलिफोनको लाइन आउने जाने हुँदै आएको भए पनि आज बिहानदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कोल्टी क्षेत्रका लागि बनाइएको पोरखेको कालाजग्रामा रहेको टावर सोलारमा हिउँ जमेको र घाम नलाग्दा उत्तरी भेगको सम्पर्क विच्छेद भएको स्थानीय छक्क मल्लले बताउनुभएको छ ।

कोल्टी क्षेत्रमा रहेको स्काइ र नमस्तेको टावरले काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । यस्तै त्रिवेणी नगरपालिकाको तोलीमा रहेको टावरले काम नगर्दा टेलिफोन सेवामा समस्या आएको बताइएको छ । टेलिकम बाजुरा शाखाले भने पानीसँगै हिमपातका कारण सोलारमा घाम नलाग्दा ब्याट्री चार्ज नभएकाले यस्तो समस्या आएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस