प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, अमेरिका भ्रमणको निम्तो !

आइतबार, २७ माघ २०७५, २० : ११
प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, अमेरिका भ्रमणको निम्तो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र नभई सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरे ।

भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती जारी गरेको भन्ने विषयमा जानकारी गराएका थिए । ‘नेपालस्थित् अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ’, उनले भने, ‘राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको खुलासा गरे । पछिल्लो समय भेनुजएला काण्डले नेपाल–अमेरिका सम्बन्ध चिसिएको र प्रचण्डलाई अमेरिकाले भिसा नदिएको चर्चा चलेको थियो ।

भेनेजुएलामा जारी राजनीतिक संकटमा विषयमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको डाओसमा भएको बेला विज्ञप्ति जारी गरेका थिए । उनको विज्ञप्तिका विषयमा अमेरिकाले चासो राख्दै सरकारको धारणा मागेको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले प्रचण्डकै आशयमा नरम भाषा प्रयोग गर्दै विज्ञप्ति जारी गरेको थियो । नेकपाको सचिवालयले पनि भेनेजुएलामा बाह्य हस्तक्षेप गर्न नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

तर, केहीदिनअघि बालुवाटारमा प्रधानमन्त्री ओलीसहितको सहभागितमा भएको कुटनीतिक नियोगका प्रमुखहरुसँगको ब्रिफिङमा राजदूत बेरी अनुपस्थित थिए । त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनी एउटा सार्वजनिक कार्यक्रममा सँगै देखिएका थिए । प्रचण्डसँगको भेटपछि सबै समस्या समाधान भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस