हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

शनिबार, २६ माघ २०७५, १९ : ४९
हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

file photo

–सर्जना कार्की

रुकुम । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि दैनिक कामकाजमा समस्या आएको छ ।

उच्च हिमाली क्षेत्रको चरन क्षेत्रमा भारी हिमपात हुँदा वस्तुभाउलाई चरन क्षेत्रको अभाव भएको स्थानीयवासी कर्मसाही घर्तीले बताउनुभयो । हिमपातकै कारण सवारीसाधनसमेत आवतजावतमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

हिमपातसँगै बिहानै घाँसदाउरा गर्ने स्थानीयवासीलाई अफ्ठ्यारो भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपात भएकै कारण चिसो निकै बढेको छ । सबैका घरमा वस्तुभाउले घाँस खान पाएका छैनन् । घरबाहिर निस्कन गाह्रो भइरहेको छ, घाँसदाउरा गर्ने त परैको कुरो हो ।”

स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चापसमेत बढेको छ । पाँच हजार ९०० मिटरदेखि सात हजार २०० मिटरसम्म अग्ला चार वटा हिमाल अवस्थित भएकाले पनि रुकुम (पूर्व) मा चिसो बढेको हो । अहिले स्थानीय चिसोबाट बच्न जङ्गलबाट ल्याएका दाउरा बालेर बसिरहेका छन् । हिमपातकै कारण बालीनाली तथा तरकारी खेतीमा क्षति पुगेपछि स्थानीयवासी चिन्तित छन् ।

टेलिफोन सेवा अवरुद्ध
हिमपातका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि जिल्लामा टेलिफोन सेवा अवरुद्ध हँुदा नागरिकले सास्ती खेप्नुपरेको छ । जिल्लास्थित नेपाल टेलिकमका सबै टावरहरु सोलारको ब्याट्रीबाट सञ्चालित छन् । लगातार चार दिनसम्म घाम नलाग्दा र हिमपात हुँदा सोलारको ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन सेवा अवरुद्ध भएको टावरको देखवाल गर्ने कर्मचारी रामबहादुर विकले जानकारी दिनुभयो ।

फोनसेवा अवरुद्ध हुँदा कार्यालयहरुमा पनि कामकाज गर्न अफ्ठ्यारो भइरहेको छ । शुक्रबारदेखि एनसेल र नेपाल टेलिकमको दुवै फोनसेवा अवरुद्ध भएका हुन् । एनसेलमा भर्खरै मात्र नेटवर्क आएको छ । नेपाल टेलिकमको भने घाम नलागुन्जेलसम्म फोन सेवा अवरुद्ध हुने कर्मचारी विकले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस