शुक्रबार पनि १० देखि ४ बजेसम्म अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १९ : ०६
शुक्रबार पनि १० देखि ४ बजेसम्म अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने

जनकपुरधाम । प्रदेश २ सरकारले बिदाको दिनबाहेक अनिवार्य रुपमा १० बजेदेखि ४ बजेसम्म विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षा विकास निर्देशनालय प्रदेश २ ले विहान १० देखि ४ बजेसम्म अनिवार्य रुपमा विद्यालय सञ्चालन गर्न सामुदायिक विद्यालयहरूलाई पत्र पठाउदै यस्तो निर्देशन दिएको हो । यस अघि शुक्रबार मध्यन्ह १ बजे बिदा दिने परिपार्टीलाई समाप्त गर्दै शुक्रबार पनि विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न तोकिएको समयलाई पूर्ण सदुपयोग गर्ने गरी विद्यालय सञ्चालनको निर्देशन दिइएको छ ।

शुक्रबार विद्यालयका अतिरिक्त समयमा थप सिकाइ कार्य गर्नुपर्ने आवश्यक्ता भएकाले विद्यालयलयमा समुदायमा भएका विभिन्न क्षेत्रका प्रतिभा, अनुभवी र विज्ञ समेतको सहयोग लिन निर्देशनालयले अनुरोध गरेको हो। विद्यार्थीको सहभागिताका लागि सह क्रियाकलाप सञ्चालन गर्न समाजिक विकास मन्त्रालय, प्रदेश २ का सबैपालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र कार्यान्वयनमा सहयोग, समन्वय र अनुगम गरिदिन निर्देशनालयले आग्रह गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले पाठ्यक्रममा बिहान १० बजेदेखि वेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने पाठ्यभार भए पनि प्रदेशका केही विद्यालयको अनुगमन गर्दा विद्यालयमा कक्षा १०ः३० देखि मात्र पठन-पाठन शुरु गर्ने गरेको भेटिएको पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘विद्यालयमा विद्यार्थी पौने दशमा उपस्थित हुने, ९:४५ मा पहिलो घण्टी लगाई छरिएका विद्यार्थीलाई लाइनमा लाग्न जनाउ दिने, ९:५० घण्टी लगेपछि लाइनमा लगाई पिटी, राष्ट्रिय गीत गाउने, सूचना सम्प्रेशन गर्ने लगायतका कार्य सकी ठिक १० बजे कक्षामा शिक्षक र विद्यार्थी उपस्थित भइ शिक्षण शिकाइका कार्य शुरुवात गर्न अनुरोध छ ।’ यदि यसरी कक्षा थालनी गर्न सम्भव नभएमा सावा दश बजेसम्म अनिवार्य रुपमा कक्षाहरू शुरुवात गर्ने गरी समय यवस्थापन गर्न निर्देशनालयले अनुरोध गरेको छ । आफ्ना बालबालिकालाई पौने दशबजे विद्यालयमा पुग्ने गरी पठाइदिन र समय व्यवस्थापनमा सहयोग गरिदिन अभिभावक तथा सम्पूर्ण सरोकारवालामा समेत निर्देशनालयले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस