मोदीलाई नमस्कार गर्दा परिणीतिको ट्रोल

सोमबार, १४ माघ २०७५, २० : ०२
मोदीलाई नमस्कार गर्दा परिणीतिको ट्रोल

अभिनेत्री परिणीति चोपडा अचेल ट्रोल बनिरहेकी छिन् । केही दिनपहिला प्रधानमन्त्री नरेन्द्र मोदी मुम्बईमा आयोजित नेसनल सिनेमा म्युजिकको उद्घाटन गर्न गएका थिए । त्यतिवेला मोदीले परिणीतिसँग हात मिलाउन हात अघि बढाएका थिए । तर, परिणीतिले उनलाई नमस्कार गरिन् । नमस्कार गर्दा परिणीति अलि असहज देखिइन् । अनि सुरु भयो उनको ट्रोल बन्न ।

कतिले परिणीतिलाई मजाकको पात्र बनाएका छन् त कतिले मोदीलाई । तर, त्यसैबीच अहिले परिणीतिको बारेमा एउटा नयाँ खबर आएको छ । त्यो हो, उनलाई दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौलीले आफ्नो फिल्ममा लिँदै छन् । राजामौली उनै हुन्, जसले बाहुबली, बाहुबली २ लगायत अधिक सफल फिल्म निर्माण गरेका छन् ।

निर्देशक मौली अचेल नयाँ बिग बजेटको फिल्म आरआरआरको सुटिङमा व्यस्त छन् । आरआरआरमा साउथका दुई स्टार जुनियर एनटिआर र रामचरण मुख्य भूमिकामा छन् । ती दुई सुपरस्टारसँग यही फिल्ममा परिणीतिलाई देख्न पाइने सम्भावना बढेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सुटिङ सुरु गरिसकेको भए पनि मौलीले हिरोइन भने छनोट गरेका छैनन् । उनले बलिउडकी परिणीतिलाई हिरोइन लिने मन बनाएको खबर मिडियाले प्रकाशित गरेका छन् । परिणीतिलाई यसअघि महेश बाबुसँग साउथ फिल्म स्पाइडरका लागि अफर गरिएको थियो । तर, त्यतिवेला उनले फिल्म स्विकारिनन् । सो भूमिकामा रकुल प्रीतलाई साइन गराइएको थियो । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस