कतै बजेटै छैन, कतै सदुपयोग छैन

पत्रपत्रिकाबाट

बुधबार, ०९ माघ २०७५, ०८ : ०४
कतै बजेटै छैन, कतै सदुपयोग छैन

तस्विर : नागरिक

सिरह । निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन। सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला।

छोरी ममता पाललाई सुत्केरी गराउन रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान आएकी सप्तरी बोदेबरसाइनकी सीतादेवीले एक घन्टामै २५ सय रुपैयाँ खर्च गर्नुपर्‍यो। भिडियो एक्सरेलगायतका परीक्षण र औषधि खरिद गरेबापत उनको खर्च बढ्दै गयो।

सुत्केरी गराउन अस्पताल पुग्ने महिलालाई सुरुमै भिडियो एक्सरे लेखिदिन्छन् चिकित्सक। तर, यो सेवा अस्पतालमा उपलब्ध छैन। अनि महिला पुग्छन् अस्पताल नजिककै श्रेया पोलिक्लिनिकमा। त्यहाँ एक्सरे, भिडियो एक्सरेलगायत सेवा उपलब्ध छ। यो पोलिक्लिनिक अस्पतालकै मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुशवाहाको हो।

यहाँ पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टरमा पुग्नुपर्छ। कुशवाहाको स्वामित्व रहेको श्रेया पोलिक्लिनिकमा यी सबै जाँचलगायतका सुविधा छ। अधिकांश महिलालाई जाँचका लागि त्यहीं पठाइन्छ। त्यहाँ बिरामीले चर्को रकम खर्चिनुपर्ने बाध्यता छ।

पालका अनुसार सुत्केरी गराउनका लागि चाहिने स्लाइन पानीदेखि औषधि सबै अस्पतालबाहिरकै निजी पसलबाट किन्नुपरेको छ। अस्पतालमा भर्ना भएको एकदुई घन्टामै भिडियो एक्सरे, ल्याब परीक्षण र औषधि गरी तीनचार हजार खर्च भएको उनले सीतादेवीले बताइन्।

‘अस्पतालको बेड र डाक्टर जाँचबाहेक सबै सेवामा रुपैयाँ खर्चिनुपर्दोरहेछ’, उनले भनिन्, ‘प्रसूति महिलालाई सरकारले दिँदै आएको न्यानो झोला (बच्चा र आमाका लागि लुगा) र यातायात खर्चसमेत अस्पतालले दिएन।’

सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत एक हजार उपलब्ध गराउँदै आएको छ। तर, यो अस्पताल मात्र नभई जिल्लाका सबै सरकारी अस्पताल र बर्थिङ सेन्टरमा उस्तै बेहाल छ। सुत्केरी गराउन आउने महिललाले बेड र पुर्जाबाहेकका सेवाका लागि रकम खर्चिनुपर्ने अवस्था छ।

सुत्केरी गराउन चाहिने औषधि, ग्लोब्स, ग्याटगट सबै बाहिर पैसा तिरेर किन्नुपर्छ। सीतादेवी भन्छिन्,‘अब जिन्दगी त्यो अस्पताल फर्केर जान्नँ। ग्लोब्सदेखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुपर्‍यो। यति खर्चमा त बाहिरको गुणस्तरीय निजी अस्पतालमा सेवा पाइन्छ, किन आउने सरकारीमा ?’  यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस