विश्वका धनीको क्लबमा नेपालको प्रवेश,सहभागी हुन प्रधानमन्त्री स्विट्जरल्याण्ड जाँदै

पत्रपत्रिकाबाट

आइतबार, ०६ माघ २०७५, ०८ : ११
विश्वका धनीको क्लबमा नेपालको प्रवेश,सहभागी हुन प्रधानमन्त्री स्विट्जरल्याण्ड जाँदै

काठमाडौं । संसारका धनी मुलुकहरूको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक प्रवेश पाएको छ । स्वीट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजार बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागिता हो । लामो राजनीतिक अस्थिरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णीम अवसर भएको अर्थशास्त्रीहरू बताउँछन् । पूर्व सचिव डा. शान्तराज सुवेदी भन्छन्, “नेपाल अहिले आर्थिक क्रान्तिको चरणमा प्रवेश गरेको छ, हाम्रा स्वदेशी लगानीले ठूला पूर्वाधार बनाउन सम्भव छैन ।

वैदेशिक लगानी आकर्षित गर्ने विश्वकै ठूलो मञ्च हो यो र सुनौलो अवसर पनि हो ।” नेपालको राष्ट्रिय स्वार्थ र प्राथमिकतालाई केन्द्रमा राखेर योजनाबद्ध तरिकाले प्रस्तुत हुन सकेमा मञ्चबाट धेरै लाभ लिन सकिने उनको बुझाइ छ । उनी भन्छन्, “हामीले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका छौं । सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने भनेका छौं प्रतिव्यक्ति आम्दानी बढाउने भनेका छौं । हाम्रा विकास र समृृद्धिका कुरालाई स्पष्ट रुपमा राख्न सकियो भने नेपाललाई ठूलो सहयोग हुने छ ।” विश्वका धनी राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले प्रवेश पाउनु आफैंमा सकारात्मक भएको उनको बुझाइ छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले दुईवटा औपचारिक सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । जसमा उनले मंगलबार दक्षिण एसियामाथिको रणनीतिक दृष्टिकोण (स्ट्राटेजिक आउटलुक अन साउथ एसिया) र बुधबार लोकतन्त्रको भविष्य दिशानिर्देश (सेपिड द फ्युचर अफ डेमोक्रेसी) विषयवस्तुमा आधारित सत्रलाई सम्बोधन गर्ने छन् । सोही अवसरमा विश्व अर्थतन्त्रका नेताहरूको अनौपचारिक बैठकलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने र विश्व व्यापारको अवस्था र त्यसको भविष्यवारे नेपालको भिजन राख्ने बताइएको छ । भ्रमणकै क्रममा उनले स्वीस र भियतनामका कार्यकारी प्रमुखहरूसँग वार्ता गर्ने कार्यक्रम रहेको छ भने आयोजक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्केवाभले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । सो अवसरमा उनले विश्व आर्थिक मञ्च र निजी कम्पनीका केही प्रमुखहरूसँग समेत भेटवार्ता गर्नेछन् ।

औपचारिक सम्वोधन, अनौपचारिक भेटवार्ता, द्विपक्षीय र बहुपक्षीय वार्तामा प्रधानमन्त्रीको मुख्य जोड भने नेपालको आर्थिक विकासका लागि विश्वलाई आह्वान गर्ने बताइएको छ । डावसमा नेपालले द्वन्द्व र अस्थिरतालाई समाप्त पारेको र व्यापारका लागि अनुकूल वातावरण निर्माण भएको सन्देश विश्वलाई दिने कार्यक्रम समेत छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आर्थिक विकास र समृद्धिको एकमात्र लक्ष्यमा रहेको नेपालका लागि आर्थिक मञ्चको बैठक फलदायी भएको हुने बताए । “प्रधानमन्त्रीले विश्वसामु नेपालले गरेको उपलब्धीलाई स्पष्टसँग राख्न सकेमा विश्व आर्थिक र सांस्कृतिक साझेदारि निर्माण गर्न यो मञ्चको बैठक र नेपालको सहभागिता एउटा आधारस्तम्भ हुनसक्छ ।”

सन् २०३० सम्ममा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्त गर्न नेपाललाई ठूलो रकम आवश्यक पर्ने र त्यसको आधार बनाउन पनि यो फोरम सहयोगी हुने उनले बताए । “सरकारले लगानी सम्मेलनको तयारी गरिरहेका बेला धनी मुलुकका लगानीकर्ताहरू भएको मुलुकमा देशको प्रधानमन्त्री आफैं उपस्थित भएर एजेण्डा राख्नु आफैंमा सकारात्मक हो,” उनले भने, “यो आर्थिक विकासको लागिमात्र नभएर नेपालको स्वतन्त्र र सार्वभौम छवि स्थापित भएको घोषणा गर्नसमेत फलदायी हुनेछ ।”

संसद्लाई जानकारी
यसैबीच प्रधानमन्त्री ओलीले जनवरी २२ देखि हुने विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जान लागेको संसद्लाई जानकारी गराएका छन् । पहिलो पटक प्रधानमन्त्री स्तरमा नेपालमा सहभागी हुन लागेको भन्दै ओलीले यसबाट नेपालले हासिल गरेको उपलब्धीलाई विश्वले हेरिरहेको बताए । “हामीले गरेको राजनीतिक र सामाजिक विकासलाई विश्वले अत्यन्तै सकारात्मक ढंगले लिएको छ,” उनले भने, “अब नेपाल एउटा सानो मुलुक, कसैले वास्ता नगर्ने मुलुकको रुपमा होइन, नेपाल पनि विश्व मानचित्रमा विभिन्न कोणबाट एउटा उल्लेख्य सम्झिन लायक देश बनेको छ ।” प्रधानमन्त्री ओलीले आइतबार बेलुका नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाने जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जनवरी २३ मा सेपिङ दी फ्युचर अफ डेमोक्रेसीमा नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम रहेको छ । यस सत्रमा कोलम्बियाका राष्ट्रपति इभान डुक माक्र्वज, अरमानियाका प्रधानमन्त्री निकोल पाशिन्यानले पनि आफ्नो धारणा राख्ने कार्यक्रम छ । यो सत्रमा फाइनान्सिलय टाइम्स र न्यूयोर्क टाइम्सका सम्पादक पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जी–२० मुलुकसहितका देशका नेताहरूसँग छलफल हुने जानकारी दिए । भ्रमणका क्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासँग पनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस