किन बदलियो नाटकीय रूपमा उत्तर कोरिया ?

एजेन्सी

बुधबार, २६ पुस २०७४, १३ : ५८
किन बदलियो नाटकीय रूपमा उत्तर कोरिया ?

पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्च स्तरीय बैठकमा उत्तर कोरिया सीमा क्षेत्रको तनाव कम गर्न सैन्यवार्ता मार्फत सहमतिका लागि तयार भएको छ ।
फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना हुने सन् २०१८ को शीतकालीन ओलम्पिक खेलका लागि उत्तर कोरियाले एक प्रतिनिधि मण्डल पठाउने छ ।
दुवै देशले सैन्य हटलाइनलाई पुनः सञ्चालन गराउन पनि सहमत भएका छन् । जुन विगत दुई वर्षअघिदेखि बन्द थियो । यद्यपि दक्षिण कोरियाले उत्तर कोरिया परमाणु निशस्त्रीकरणतर्फ सकारात्मक नरहेको आरोप लगाएको छ ।

दुवै देशबीच के–के कुराकानी भयो
एक दिन भएको कुराकानीपछि दुवै देशले संयुक्त रूपमा एउटा विज्ञप्ती जारी गरेका छन् । बयानले के पुष्टि गरेको छ भने दुवै देशको सीमामा हुने तनाव कम गर्ने विषयमा छलफलका लागि दुवै पक्ष सहमत छन् ।

यसका साथै उत्तर कोरियाले राष्ट्रिय ओलम्पिक समितिमा सहभागी हुने एथलेटिक्स, चियरलिडर्स, आर्ट परफर्मेन्स, दर्शक, एक ताइक्वान्दो टिम र मिडियाकर्मीलाई दक्षिण कोरिया पठाउन सहमत भएको छ । उनीहरूलाई दक्षिण कोरियाले आवश्यक सबै सुविधा उपलब्ध गराउने छ ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहैपका अनुसार दुवै देशको सम्बन्ध सुधारका निम्ति अर्को उच्च स्तरीय बैठक आयोजना गरिनेछ ।'

दक्षिण कोरियाली सरकारका अनुसार आफूले उत्तर कोरियासँग कुनै पनि शत्रुतापूर्ण कदम चाल्न नचाहेको र लामो समयको शत्रुतापूर्ण सम्बन्धको अन्त्यका निम्ति यो वार्तालाई महत्वका साथ हेरेको बताएको छ ।

कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण व्यवस्थाका लागि स्थायी समाधानको आवश्यकतामा दुवै देशका अधिकारीहरूले जोड दिएका छन् । उनीहरूले बैठकसम्बन्धी अन्य महत्वपूर्ण जानकारी पनि दिएका छन् ।

दक्षिण कोरियाले प्योङचाङ शीतकालीन ओलम्पिक उद्घाटन समारोहमा दुवै देशका एथलेटिक खेलाडीहरूलाई सँगै मार्चमास गराउन प्रस्ताव राखेको छ । यस्तै खाले मार्च पास सन् २००६ को शितकालीन ओलम्पिकमा पनि गरिएको थियो ।

दुवै देशका अधिकारीहरूले कोरियाली युद्धमा छुट्टिएका परिवारहरूको पुनरमिलनलाई विशेष महत्वका साथ वार्तामा उठाइएको जनाएका छन् । उनीहरूका अनुसार यो मुद्दा दुवै देशका लागि भावनात्मक रूपमा निकै संवेदनशील मुद्दा हो ।

वार्ता आरम्भ हुनासाथ दक्षिण कोरियाले उत्तर कोरियामाथि लगाएका केही प्रतिबन्धहरू अस्थायी रूपमा हटाउनका लागि पनि आफूले छलफल गरिरहेको बताएको छ । तर उसले ती प्रतिबन्धहरू संयुक्त राष्ट्रसङ्घको समन्वयनमा मात्र गर्ने जनाएको छ ।

दक्षिण कोरियाको प्रस्तावमा उत्तर कोरियाले खासै कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उत्तर कोरियाई प्रतिनिधिमण्डलका प्रमुख रि सोन–ग्वोन तटस्थ देखिएका छन् ।

उनले भने– ‘मलाई के विश्वास छ भने वार्ताले नयाँ वर्षमा हाम्रा लागि सुन्दर सन्देश ल्याउनेछ । उत्तर कोरिया यी प्रयासका लागि गम्भीर छ ।’

 

कहाँ भयो वार्ता
दुवै देशबीच भएको वार्ता पन्मुजोम पिस भिलेजमा आयोजना गरिएको थियो । पन्मुजोम गाउँ उत्तरकोरिया, दक्षिण कोरयाको सीमा क्षेत्र हो । जहाँ दक्षिण कोरियाको तर्फबाट बाक्लो रूपमा अमेरिकी सेनाको उपस्थिति रहने गर्छ ।

वार्तामा दुवै देशका पाँच–पाँच जना बरिष्ठ अधिकारी सहभागी भएका थिए । दुवै देशका नेताहरूले सो वार्तालाई सीसीटीभी मार्फत नियालेका थिए ।

नयाँ वर्षको सम्बोधनमा उत्तर कोरियाली नेता किमजोङ उनले आफूले शीतकालीन ओलम्पिकमा खेलाडीहरूलाई दक्षिणकोरिया पठाउने बारे विचार गरिरहेको बताएका थिए ।

उता दक्षिण कोरियाको ओलम्पिक प्रमुखले आफूहरू उत्तरकोरियाली खेलाडीहरूको स्वागत गर्न तयार रहेको बताएका थिए ।

किम जोङ उनको सङ्केतपछि दक्षिण कोरियाले ओलम्पिकमा भाग लिनका लागि उच्च स्तरीय बैठकको प्रस्ताव राखेको हो । यद्यपि यस मामिलामा उत्तर कोरिया त्यो बेला सहमत भयो । जब  दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्दै थिए ।

उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास युद्धको पूर्वाभ्यास हो भन्ने लागेको हुन सक्छ । अमेरिकीहरूको बुझाइमा दुई कोरियाली देशहरूको बीचको सुधारिएको सम्बन्ध दक्षिण कोरिया र अमेरिकाका बीचको सम्बन्ध बिगार्नका लागि आयोजना गरिएको हो ।

नाटकीय परिवर्तन
एक हप्ता पहिले उत्तर कोरिया अमेरिका र दक्षिण कोरियामाथि परमाणु हमलाको धम्की दिइरहेको थियो तर मङ्गलबार बिहान प्योङयाङबाट एक प्रतिनिधिमण्डल दुवै देशको सीमारेखामा वार्ता गर्न पुगे ।  

उत्तर कोरिया प्योङचाङ ओलम्पिकमा एक प्रतिनिधिमण्ड पठाउन सहमत भएको छ । महिनौँको तनावका बीच यो नाटकीय घटनाक्रम विकसित भएको हो । दक्षिण कोरियाका मानिसहरूका अनुसार यो उत्तरकोरियामा आएको सकारात्मक परिवर्तन हो ।

दक्षिण कोरियाई राष्ट्रपति मुन ज्येइन उत्तर कोरियासँग ठोस वार्ताको पक्षमा छन् र अमेरिकी आड भरोसा पनि त्याग्न चाहन्नन् ।

यस भन्दाअघि दुवै देशबीच सन् २०१५ मा वार्ता भएको थियो । सन् २०१५ को वार्ता बीचमै तुहिनुको मुख्य कारकका रूपमा उत्तरकोरियाई परमाणु परीक्षणलाई देखाइएको छ ।

दुवै देश वार्ता मार्फत एउटा संयुक्त आर्थिक परियोजनामा जाने भएका थिए । ‘काइसोङ इन्डस्ट्रियल कम्पेक्स’ मार्फत संयुक्त आर्थिक परियोजनामा सहमत भएका दुवै देशमा दक्षिण कोरियाले उक्त सम्झौता रद्द गरेपछि परियोजना र वार्ता तुहिएको थियो ।

त्यसपछि उत्तर कोरियाले दक्षिण कोरियासँग सबै सम्बन्धहरू तोडेको थियो । कतिसम्म भने दुवै देशबीच सुचारु गरिएको सैन्य हटलाइन पनि बन्द गरियो ।

दुबै देशबीच किन बिग्रियो सम्बन्ध
उत्तर कोरियाले परमाणु कार्यक्रम सञ्चालन गरेपछि अमेरिकासँग बढेको राजनीतिक सङ्घर्ष र त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भड्किलो अभिव्यक्तिका कारण पनि दुवै देशबीच सम्बन्ध बिग्रनुको मुख्य कारण रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

अमेरिकासँगको सम्बन्धका कारण उत्तर कोरिया निरन्तर मिसाइल परीक्षणमा लाग्यो भने उसका विरुद्ध दक्षिण कोरिया तथा अमेरिकी नाकाबन्दी पनि बढ्दै गयो ।
२८ नोभेम्बरमा उत्तर कोरियाल गरेको ब्यालेस्टिक मिसाइल परीक्षणले स्थितिलाई झनै नाजुक बनाइदियो । त्यसपछि अमेरिकाले उत्तर कोरियामा ऊर्जा आपूर्ति रोकिदियो र उत्तर कोरियाली नागरिकमाथि प्रतिबन्ध लगायो ।

त्यसपछि ट्रम्पले किम जोङ उनलाई रकेट म्यान भने भने किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै आफ्नो टेबलमा परमाणु बमको बटन रहेको धम्की दिए ।
उनको प्रतिक्रियामा थप प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो टेबलमा भएको परमाणु बटन उत्तरकोरिया भन्दा शक्तिशाली र विनाशकारी रहेको टिप्पणी गरे ।

 

 

 

प्रतिक्रिया दिनुहोस