गोली हानेर बर्दियामा अपराधी पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०७५, १४ : ५३
गोली हानेर बर्दियामा अपराधी पक्राउ

चितवन । बर्दियामा प्रहरीले गोली हानेर अपराधीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्या गरी फरार रहेका युवराज गिरीलाई आज कोहलपुरबाट पक्राउ गरेको हो ।  

घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

गिरीलाई  खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुई जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए ।

भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरूले हत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डिआइजी पिताम्बर अधिकारीले जानकारी दिए ।

उनीहरूले साँझ ठकुरीलाई बोलाएर योजना बनाएर नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । २ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
 

प्रतिक्रिया दिनुहोस