सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

पत्रपत्रिकाबाट

शनिबार, २८ पुस २०७५, ०८ : ५९
सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

फाईल तस्विर

सिन्धुली । जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

गत सातादेखि सोही क्षेत्रको आसपासमा रहेको गाँजा खेती नष्ट गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। मरिण–१ खलंगा र मान्द्रेमा सात बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ। मरिण–१ कै बेतपानी र नकलीमा नौ बिघामा लगाइएको गाँजा प्रहरीले फँडानी गरेको छ। यस्तै, मरिणकै वडा १, २ र ६ स्थित भालुओडार, सुँगुरे, मुंग्रेदोभानमा व्यावसायिक रूपमा लगाइएको पाँच बिघा क्षेत्रफलको गाँजा प्रहरीले फँडानी गरेको जिल्ला प्रहरी प्रमुख यादवले जानकारी दिए। उनका अनुसार सोही गाँउपालिकै वडा ३ को बरुणमा लगाइएको पाँच बिघा क्षेत्रफलको गाँजा पनि नष्ट गरिसकिएको छ।

गत कात्तिकमा झन्डै ६० बिघा र यसै साता ३७ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वरप्रसाद यादवले जानकारी दिए। उनका अनुसार मरिणका विभिन्न स्थानमा लामो समयदेखि गाँजा खेती हुने गरेको सुराकी पाइएपछि प्रहरी खटाइएको थियो। कात्तिक अन्तिम साता भने प्रदेश ३ प्रहरी कार्यालयबाट खटिएका २५ जनासहित जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मरिण–३ को बरुण भलायोमा २१ बिघा र वडा १ को टुँडिखेल र बेदपानीमा चार बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो। गाँजा खेतीबारे जानकारी लिन प्रहरीले एक साता अनुसन्धानसमेत गरिएको सिन्धुली प्रहरीले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस