राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई किन हेला ?

विहीबार, २६ पुस २०७५, १५ : ५८
राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई किन हेला ?

- सम्झना पौडेल
पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनी जन्मिएको दिन पुस २७ गतेलाई पृथ्वी जयन्तीको रुपमा मनाइन्छ । विगतमा पृथ्वी जयन्तीमा सरकारी बिदा हुने गरेकोमा अहिले बिदा दिन छाडिएको छ । नेपाल सरकारले राष्ट्र नायक मानिएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न जान्दैन । भो अब हामी नेपाली भनेर छाती फुलाउनु पर्दैन । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेला गर्ने अधिकार कस्ले दियो ? के हामी  हाम्रा बाबुआमाबिना यो धर्तीका हुने थियौं  ?  एक पटक सोचौं सबैले । पृथ्वीनारायणबिनाको नेपाल कल्पना पनि गर्न सकिन्न ।

सबैभन्दा बढी राष्ट्रहितको कुरा गर्नेहरू सबैभन्दा चर्को रूपमा विदेशी दलाल भएका छन् । दुनियाँलाई गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन । तर दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण चाहिन्छ । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहोदामा पुगे पनि हुनेवाला केही छैन । नेपालले आजयस्तै नियति भोगिरहेको छ । लाग्छ आज स्यालहरुले मासु लुछाचँुडी गरिरहेका छन् । यस्ता स्यालहरु स्वामीभक्त भएर देखा पर्छन् ।  कतिपय स्यालहरु हेर्दा एकदम इमानदार सहनशील जस्तो पनि देखिन्छन् । कतिपय स्यालहरु स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन माहिर देखिन्छन् ।

पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो । त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले सानासाना भुरेटाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा थियो । पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्याभन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हो । पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान गर्न मिल्दैन ।

विगत दश वर्षदेखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ । शाहलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा लिन नसक्नु राज्यको ठुलो भूल हो ।  अन्य देशका राजाहरू पहिले राजा हुन्छन् ।  पछि देश बनाउनमा लाग्छन् तर हाम्रो देशका पृथ्वीनारायण शाहले पहिले देश बनाएर पछि नेवारकी छोरीको खुट्टाको पानी खाएरमात्र राजा बनेको इतिहास साक्षी छ । विश्व मानचित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ वा हो भन्ने महान इतिहास रच्ने राष्ट्रिय विभूति पृथ्वीनारायण शाह हुन् । उनलाई नसम्झनु नेपालीको लागि गम्भीर दुर्भाग्य हो ।

 

प्रतिक्रिया दिनुहोस