‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

बुधबार, १८ पुस २०७५, १९ : ३०
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ  । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ । 

मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५आँै मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए । 

पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले थप एक गोल गर्न सक्यो । खेलको ६३ औँ मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । जितसँगै मनाङले १२ खेलबाट ३६ अङ्क जोडेको छ । 

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । पराजित हिमालयन शेर्पा १२ खेलबाट १७ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । यसैबीच आजदेखि लिगअन्तर्गत १२औँ चरणका खेल सकिएका छन् । अब लिगमा एक चरणको मात्र खेल बाँकी छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस