राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

सोमबार, २४ पुस २०७४, १३ : २३
राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन् ।

प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गरिन् ।

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए ।

सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस