आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित

सोमबार, २४ पुस २०७४, १२ : ४०
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित

काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तय गर्न आज (सोमबार) बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारले तोकेका प्रदेश प्रमुखलाई लिएर विवाद गर्न सक्ने आशंकामा आजको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

सरकारले राजनीतिमा प्रत्यक्ष संलग्न नभएका तर सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त तयारी गरिरहेको छ । आगामी सरकारलाई अहिले तोकिने प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख तोक्न असहज वातावरण बनोस् भनेर सरकारले राजनीतिमा प्रत्यक्ष संलग्न नभएका तर सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

यस्तै, सरकारले प्रदेशहरुको अस्थायी राजधानी नतोकेर काठमाडौंमै प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने पनि तयारी गरेको छ । तर कम्युनिष्ट गठबन्धनले प्रदेशको अस्थायी राजधानी नतोकेसम्म प्रदेश प्रमुखहरु नियुक्त नगर्न चेतावनी दिएको छ ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बेलाएर प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्न राजनीतिक सहमति जुटाउने प्रयास गरेका थिए । बैठक कुनै ठोस सहमतिमा नपुगेपछि कम्युनिष्ट गठबन्धनले सरकारलाई विवेक पुर्याएर प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई सुझाव दिएको थियो । 

प्रतिक्रिया दिनुहोस