चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी ऐतिहासिक पहिलो महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि जगदिश खरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत खरेलले निर्वाचन आयोग समक्ष पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । उनले उम्मेदवारी दर्ता गराएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै यसबारे आधिकारिक जानकारी दिएका छन् ।
दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रम जारी रहँदा महामन्त्री पदको चुनावी समीकरणमा नयाँ फेरबदल देखिएको छ । यसअघि महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गरेका परराष्ट्रमन्त्री शिशिर खनाल भने प्रतिस्पर्धाबाट पछि हटेका छन् । खनालले पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि यस पदको भिडन्त थप रोचक बनेको छ ।
खरेलसँगै नेता गणेश कार्कीले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । कार्कीले पार्टीको विधि, पद्धति र वैचारिक स्पष्टताका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै फोटोसहित सामाजिक सञ्जालमा दाबेदारी पेस गरेका छन् ।
रास्वपाको एक निर्वाचित महामन्त्री पदका लागि आकांक्षीहरूको सङ्ख्या निकै ठुलो देखिएको छ । जगदिश खरेल र गणेश कार्कीसँगै अन्य प्रभावशाली नेताहरू चुनावी मैदानमा छन् । यस पदका लागि मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना र सागर ढकाल लगायतका नेताहरूले पनि आ–आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, ०६ : ५५
लेखकबाट थप