मेस्सीलाई छोराको प्रश्न, माहीले किन हार्यौ ?

शनिबार, १४ पुस २०७५, १९ : १३
मेस्सीलाई  छोराको प्रश्न, माहीले किन हार्यौ ?

एजेन्सी । हाल क्रिसमस तथा जाडो बिदामा रहेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेस्सीको पछिल्लो अन्तर्वार्ता यतिबेला चर्चामा छ । उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै आफ्नो जिवनका रोचक कुराहरु खोलेका छन् ।

उक्त अन्तर्वार्तामा मेस्सीलाई केही रोचक प्रश्न सोधिएको थियो । जसमा उनले जवाफ पनि रोचकै ढंगले नै दिएका छन् ।

१. पाँचौं गोल्डेन बुट जित्नुभयो । अब त उपाधि पुग्योजस्तो लाग्दैन ?

आफूले केही गरेको कुरामा आधार मिल्न यो एउटा राम्रो अवसर हो । मेरा लागि मात्र होइन, सबैका लागि यही हुन्छ । यी अवार्ड मैले पाए पनि पूरै टिमका लागि नै हो । र, पटक-पटक जित्न पाउँदा मलाई खुशी लाग्छ ।

२. तपाईंको जीवनमा यतिबेला फुटबल नै मुख्य प्राथमिकतामा छ कि परिवार ?

जबदेखि मेरा सन्तान भए, प्राथमिकतामा सधैं परिवार नै छ । र, हुनेछ । मेरो विचारमा यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा पनि हो । अर्कातर्फ पक्कै पनि मलाई फुटबल मन पर्छ । र, त्यसैका लागि बाँचिरहेको छु । तर, मेरा लागि परिवार विशेष हो ।

३. अझै थप सन्तानको योजनामा हुनुहुन्छ कि ?

मेरो तेस्रो सन्तान सिरो अहिले बल्ल हुर्किनेक्रममा छ । हामी एउटी छोरी होस् भन्ने चाहेका छौं । तर, अहिले नै त्यसको हतार छैन ।

४. तपाईंलाई बेला-बेला आफ्ना छोराहरू माटेओ र थियागोलाई पनि क्याम्प नोउमा फुटबल हेर्न लगिरहनुभएको देखिन्छ । फुटबल हेर्दा तपाईंसँग उनीहरू के कुरा गर्छन् नि ?

हो, उनीहरू दुवै फुटबल मन पराउँछन् । थियागोले राम्ररी नै बुझ्छ । अलि ठूलो पनि भयो । उसले त खेलबारे सबै कुरा गरिरहेको हुन्छ । खेल हेर्दा ऊ रमाइलो पनि गर्छ ।

५. बार्सिलोनाले हारेका बेला तपाईं घरमा गएर फुटबलको कुरा गर्नुहुन्न भनिन्छ नि ?

पहिले त हो । अहिले त्यस्तो छैन । नराम्रो खेलेको कुरा र हारेका बेला अलि अप्ठ्यारो हुने भैहाल्यो । तर, घरमा पुगेपछि पनि ठूलो छोराले हामीले के नपुगेर हारेको ? किन त्यस्तो भयो ? भनेर प्रश्न सोध्छ । उसलाई किन हारियो भन्ने कुराको उत्तर चाहिन्छ ।

६. तपाईंले फ्रि किक हान्ने बेला बल मिलाउँदैमा करिब आधाउधी त गोल नै भइसक्यो जस्तो लाग्छ । फ्रि किक र पेनाल्टीमा के फरक छ ?

विल्कुल फरक छ नि ! फ्रि किकमा बार हुन्छ र दूरी पनि अलि भिन्न नै हुन्छ । फ्रि किमा पेनाल्टीमा जस्तो धेरै प्रेसर पनि हुँदैन । दुवै किक नै हुन् तर फरक । मुख्य कुरा पेनाल्टी हान्ने बेला गोलकिपरलाई भन्दा हान्नेलाई प्रेसर हुन्छ भने फ्रि किकमा गोलकिपरलाई ज्यादा प्रेसर हुन्छ । मैले धेरैपटक यस्तो अनुभूत गरेको छु ।

७. यसवर्ष बालोन डि’ओरको अवार्डमा पाँचौंमा मात्रै पर्दा कस्तो लाग्यो नि ?

नढाँटी मनैदेखि भन्नुपर्दा पहिल्यैबाट म यस्तो कुरामा उति वास्ता गर्दिनँ । यद्यपि, त्यो ठूलो अवार्ड हो । यसपटक म अवार्ड जित्दिनँ भन्ने थाहा थियो । त्यसैले म धेरै आश्चर्यमा परिनँ ।

८. यो सिजन रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोलाई धेरै नै याद गरिरहेको देखेर आश्चार्य लागेको छैन ?

पहिलो कुरा, मैले सिजनको सुरुमै यो भनेको थिएँ कि, रियल मड्रिड उत्कृष्ट टिम हो भने क्रिस्टियानो उत्कृष्ट खेलाडी । रियल विश्वकै राम्रामध्येको एक क्लब हो । जसमा निकै उत्कृष्ट खेलाडी छन् । तर, क्रिस्टियानोलाई त जसले पनि सम्झी हाल्छन् नि ! उनी धेरै गोल पनि गर्छन् र टिमका लागि अरू धेरै कुरामा सहयोग गर्छन् । त्यसैले रियलले उनलाई सम्झिरहेको देखेर मलाई नयाँ लागेको छैन । यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो ।

 

प्रतिक्रिया दिनुहोस