एजेन्सी । व्यस्त जीवनशैलीका कारण कतिपय मानिसहरूलाई व्यायामका लागि समय निकाल्न कठिन भइरहेको हुन्छ । यही सन्दर्भमा एक नयाँ वैज्ञानिक अनुसन्धानले उत्साहजनक तथ्य सार्वजनिक गरेको छ।
बेलायत, अमेरिका र स्क्यान्डिभियाका करिब १ लाख ५० हजार वयस्कहरूमा गरिएको बृहत् अध्ययन अनुसार दिनको मात्र पाँच मिनेट तीव्र गतिमा हिँड्ने, साइकल चलाउने वा सिँढी चढ्ने जस्ता शारीरिक गतिविधि गर्दा अकाल मृत्युको जोखिमलाई उल्लेख्य रूपमा कम गर्न सकिन्छ।
अनुसन्धानका मुख्य लेखक तथा नर्वेको 'स्कुल अफ स्पोर्ट्स साइन्सेज'का प्रोफेसर उल्फ एकेलन्डका अनुसार, जनसंख्याको स्तरमा हेर्दा दिनको मात्र पाँच मिनेटको सक्रियताले १० मध्ये एक जनाको अकाल मृत्यु रोक्न मद्दत पुर्याउँछ। यो अध्ययनले जिममा घन्टौँ बिताउन नसक्ने व्यक्तिहरूका लागि पनि स-साना शारीरिक गतिविधिले स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पार्ने देखाएको छ।
विशेषगरी शारीरिक रूपमा निस्क्रिय व्यक्तिहरूका लागि यो सानो परिवर्तन जीवनदान साबित हुन सक्ने अनुसन्धानकर्ताहरूको दाबी छ।
विज्ञहरूले यस अवधारणालाई 'एक्सरसाइज स्न्याकिङ' को नाम दिएका छन्। यसको अर्थ दिनभरिको समयमा छोटो-छोटो समयका लागि शरीरलाई चलायमान बनाउनु हो।
भान्छामा खाना पकाउँदा पकाउँदै नाच्ने, घरको सफाइ तीव्र गतिमा गर्ने वा कार्यालय जाँदा लिफ्टको सट्टा सिँढी प्रयोग गर्ने जस्ता कार्यलाई यस अन्तर्गत राखिएको छ। अल्स्टर विश्वविद्यालयकी प्रोफेसर मेरी मर्फीका अनुसार, यस्ता साना गतिविधिले शरीरको मेटाबोलिज्म (पच्ने प्रक्रिया) लाई बारम्बार सक्रिय बनाउँछन्, जसले गर्दा व्यायाम रोकेको केही समयपछिसम्म पनि शरीरले ऊर्जा खपत गरिरहन्छ।
अनुसन्धानले लामो समयसम्म बसिरहने बानीलाई घटाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको औंल्याएको छ। दिनभरिमा बसिरहने समयलाई ३० मिनेटले मात्रै घटाउँदा पनि अकाल मृत्युको जोखिम ७ प्रतिशतले कम हुने देखिएको छ।
रोड आइल्याण्ड विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल लोगानका अनुसार, शारीरिक सक्रियताले मुटुको स्वास्थ्य मात्र नभई हड्डीको मजबुती, मांसपेशीको गुणस्तर र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ, जसले मानिसलाई बुढेसकालमा समेत स्वस्थ राख्न मद्दत गर्छ।
त्यस्तै, लघबरो विश्वविद्यालयकी प्रोफेसर अमान्डा डेलीले यस्ता स-साना गतिविधिलाई बानीका रूपमा विकास गर्न सुझाव दिएकी छिन्। आफ्नो गन्तव्यभन्दा पाँच मिनेट टाढा गाडी पार्किङ गर्ने वा हिँडेर जाने जस्ता बानीले समयको अभाव देखाउँदै व्यायाम नगर्नेहरूका लागि उत्तम विकल्प प्रदान गर्छन्।
विज्ञहरूका अनुसार विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको हप्ताको १५० मिनेटको व्यायामको लक्ष्य भेट्न नसके पनि, केही नगर्नुभन्दा थोरै मात्र सक्रिय रहनु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ जेठ २०८३, ०७ : ४५
लेखकबाट थप