विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल

सफल खबर संवाददाता

मंगलबार, २२ बैशाख २०८३, ०७ : ४२
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ । यूएईमाथि दुई जित निकालेको नेपाल यसअघि ओमानसँग पहिलो खेलमा पराजित भएको छ ।

पहिलो खेलमा यूएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो । तेस्रो खेलमा भने नेपालले यूएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

घरेलु मैदानमा सिरिजको महत्त्वपूर्ण खेलमा आज ओमानमाथि जित निकाल्दै पर्ने दबाब नेपालमाथि छ । ओमान भने त्रिवि मैदानमा नेपालसँग अहिलेसम्म अपराजित छ ।

लिग २ मा ओमान ३१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने १६ अंक मात्र जोडेको तेपाल तालिकाको नवौं स्थानमा छ । ओमानले अहिलेसम्म लिग–२ अन्तर्गत २७ खेल खेल्दा १४ जित निकालेको छ भने नेपालले २३ खेल खेल्दा सात जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस